सिद्धार्थनगर देशकै उत्कृष्ट पालिका घोषित, प्रधानमन्त्रीद्वारा पुरस्कृत
रुपन्देही,८ चैत । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका शहरी योजना, पूर्वाधार विकास र विपद् व्यवस्थापनमा उत्कृष्ट कार्यसम्पादन गरे वापत देशभरका नगरपालिकाहरूमध्ये सर्वोत्कृष्ट घोषित भएको छ।
नेपाल नगरपालिका संघले आर्थिक वर्ष २०८०/८१ मा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै सिद्धार्थनगरलाई पुरस्कृत गरेको हो। संघको ३२ औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले सिद्धार्थनगरका प्रमुख इश्तियाक अहमद खाँ र उपप्रमुख उमा अधिकारीलाई उत्कृष्ट नगरपालिका पुरस्कार, २०८१ प्रदान गरी सम्मान गर्नुभयो।
नगरपालिका संघले प्रत्येक वर्ष विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने नगरपालिकाहरूलाई पुरस्कृत गर्दै आएको छ। आर्थिक वर्ष २०८०/८१ को पुरस्कार प्राप्त गर्न पाउँदा खुशी लागेको सिद्धार्थनगरका प्रमुख खाँले बताउनुभयो। नगरपालिका संघले विभिन्न सूचकहरूको आधारमा मूल्याङ्कन गरी नगरपालिकालाई पुरस्कृत गर्ने गर्दछ।
सिद्धार्थनगर प्रमुख खाँले जनप्रतिनिधि, कर्मचारी र नगरवासीहरूको सामूहिक प्रयासले नगरपालिका उत्कृष्ट बन्न सफल भएको बताउँदै सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो। “हामी जनप्रतिनिधि, कर्मचारी र नगरवासीको योगदानले उत्कृष्ट नगरपालिकाको पुरस्कार प्राप्त गर्न सफल भएका छौं,” उहाँले भन्नुभयो, “यो सम्मानले हामीलाई अझै कामप्रति थप उत्तरदायी बनाएको छ।” आगामी दिनमा सबै सूचकाङ्कहरूमा पालिकालाई सर्वोत्कृष्ट बनाउने गरी काम गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो।
नगरपालिका संघका अनुसार सिद्धार्थनगरले मुलुकभरका नगरपालिकाहरूलाई पछि पार्दै ८५ प्रतिशत अङ्क प्राप्त गरेको छ। शहरी योजना, यातायात व्यवस्थापन र खानेपानी जस्ता क्षेत्रमा नगरपालिकाले उल्लेखनीय कार्य गरेको जनाइएको छ।