एसईई परीक्षामा अनियमितता गर्ने एक सहायक केन्द्राध्यक्षसहित ४ निरीक्षक कार्वाहीमा

वीरगन्ज, १० चैत । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा मर्यादा विपरीत कार्य गरेको आरोपमा एक सहायक केन्द्राध्यक्षसहित चार जना निरीक्षकलाई जिम्मेवारीबाट हटाइएको छ।

पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालको अध्यक्षतामा बसेको परीक्षा समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो।

माइस्थान विद्यापीठ माध्यमिक विद्यालय वीरगन्जका केन्द्राध्यक्ष मुनिलाल कर्णलाई परीक्षाको मर्यादा कायम राख्न नसकेको भन्दै सचेत गराइएको छ। सोही केन्द्रका सहायक केन्द्राध्यक्ष जयप्रकाश सर्राफको गतिविधि शंकास्पद देखिएकाले परीक्षा अवधिभर केन्द्रमा प्रवेश गर्न रोक लगाइएको छ।

नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, मसिहानी र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, निचुटा परीक्षा केन्द्रमा अनधिकृत व्यक्ति प्रवेश गरेको पाइएकाले केन्द्राध्यक्षलाई लिखित रूपमा ध्यानाकर्षण गराइएको छ। मसिहानी केन्द्रका निरीक्षक लालबाबु यादवलाई मर्यादा विपरीत कार्य गरेको भन्दै हटाइएको छ। सिद्धार्थ माध्यमिक विद्यालय चिनी कारखाना वीरगन्ज परीक्षा केन्द्रका निरीक्षक धमेन्द्र पाण्डे र रामबालक यादवलाई पनि जिम्मेवारीबाट हटाइएको छ।

सुन्दरमल रामकुमार कन्या माध्यमिक विद्यालय वीरगन्जमा प्रश्नपत्र वितरणमा त्रुटि भेटिएकाले आगामी परीक्षामा यस्तो गल्ती नदोहोर्‍याउन निर्देशन दिइएको छ। परीक्षा केन्द्रहरूमा परीक्षा सुरु हुनुभन्दा २० मिनेट अगाडि मात्र प्रश्नपत्र खोल्ने व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *