राष्ट्रियसभाबाट सहकारीसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक स्वीकृत

काठमाडौँ, १० चैत । राष्ट्रियसभाले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ स्वीकृत गरेको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रस्तुत गरेको उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभाको आजको बैठकले बहुमतबाट स्वीकृत गरेको हो।
विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै सहकारीमन्त्री अधिकारीले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्ने उद्देश्यका साथ विधेयक ल्याइएको स्पष्ट पारे। “प्रस्तुत विधेयकले तत्कालका समस्या यथाशीघ्र समाधान गर्नेछ,” उहाँले भन्नुभयाे।
मन्त्री अधिकारीले प्रतिपक्ष, आमजनता र सरोकारवालाको चाहना तथा भावना सम्बोधन हुनेगरी सहकारी क्षेत्रका समस्या समाधान गर्नुपर्छ भन्नेमा सरकार स्पष्ट रहेको बताउनुभयाे ।
विधेयकमाथिको छलफलमा सांसदहरूले विभिन्न प्रश्न उठाएका थिए। राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विधेयकमाथि संशोधन राख्न चाहने सांसदहरूलाई सभाअन्तर्गतको विधेयक शाखामा संशोधन प्रस्ताव दर्ता गर्न सक्ने जानकारी गराउनुभयाे ।