फागुन महिनामा अपराधका चार हजार मुद्दा दर्ता
काठमाडौं, ११ चैत । फागुन महिनामा देशभर ४ हजार ४६८ वटा आपराधिक घटनाका मुद्दा दर्ता भएका छन्। नेपाल प्रहरीका अनुसार काठमाडौं उपत्यकामा अपराधका घटना धेरै घटेका छन्, तर बैंकिङ कसुरका मुद्दा भने बढेका छन्।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिनेशकुमार आचार्यका अनुसार दर्ता भएका मुद्दामध्ये बैंकिङ कसुरका मुद्दा सबैभन्दा बढी छन्, जुन १ हजार १२७ (२५.२२ प्रतिशत) छन्। बैंकिङ कसुरमा पनि चेक बाउन्सका मुद्दा धेरै दर्ता भएका छन्।
डीआईजी आचार्यले प्रविधिको विकाससँगै सामाजिक सञ्जालको दुरुपयोगबाट हुने अपराधका घटना पनि बढ्दै गएको बताए।
फागुन महिनामा दर्ता भएका अन्य मुद्दाहरुमा सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका ५२१, आत्महत्या सम्बन्धी ५०१, लागुऔषध सम्बन्धी ४१९, चोरीका २८६, जबर्जस्ती करणीका १६८, ठगी सम्बन्धी १६२, सवारी ज्यान मुद्दा १५४, ज्यान मार्ने उद्योगमा ७१ र कर्तव्य ज्यान सम्बन्धी ४२ वटा मुद्दा रहेका छन्।
काठमाडौं उपत्यकामा १ हजार ३३७ मुद्दा दर्ता भएका छन्। प्रदेशगत रुपमा मधेस प्रदेशमा ७१५, कोशी प्रदेशमा ६६५, लुम्बिनी प्रदेशमा ६१२, बागमतीमा ३७६, सुदूरपश्चिममा २७९, गण्डकी प्रदेशमा ३२३ र कर्णाली प्रदेशमा १६१ वटा आपराधिक घटनाका मुद्दा दर्ता भएका छन्।