त्रिशूलीमा कोइला बोकेको ट्रक खस्दा चालकको मृत्यु, सहचालक घाइते
चितवन, १२ चैत । मुग्लिन–नारायणगढ सडकखण्डको चौधकिलोमा कोइला बोकेको ट्रक त्रिशूली नदीमा खस्दा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन्।
आज बिहान करिब साढे ६ बजे बागमती प्रदेश ०३–००१ ख ४८७४ नम्बरको ट्रक आफैं अनियन्त्रित भई त्रिशूलीमा खसेको थियो।
दुर्घटनामा परी ट्रक चालक, रौतहट घर भएका अन्दाजी ३०/३५ वर्षीय रामनारायण यादवको मृत्यु भएको प्रहरीले जनाएकाे छ त्यस्तै सहचालक, रौतहटकै १९ वर्षीय असुन्द्र कुमार यादव घाइते भएका छन्।
इलाका प्रहरी कार्यालय जुगेडीबाट प्रहरी नायब निरीक्षक ठाकुर प्रसाद पनेरु नेतृत्वको टोलीले चालक र सहचालकलाई उद्धार गरी सरकारी अस्पताल भरतपुर पठाएको थियो।
अस्पतालले सहचालकलाई थप उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुरमा रिफर गरेको छ भने चालकलाई ८ः२० बजे मृत घोषणा गरेको थियो।
प्रहरीका अनुसार दुर्घटनाका कारण ट्रक पूर्णरुपमा क्षतिग्रस्त भएको छ र त्यसको आधा भाग त्रिशूली नदीमा डुबेको छ।