चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा ५.१ प्रतिशतको आर्थिक वृद्धिदर

काठमाडौं, १४ चैत्र । राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासिकमा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत रहने अनुमान गरेको छ। कार्यालयले बुधबार सार्वजनिक गरेको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को विवरण अनुसार यातायात लगायत केही क्षेत्रमा उल्लेख्य सुधार देखिएको छ।

यद्यपि, यो मौसमी प्रभाव समायोजन नगरिएको वृद्धिदर हो। मौसमी प्रभाव समायोजनपछिको जीडीपी वृद्धिदर २.२ प्रतिशत रहेको कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार यातायात, निर्माण, कृषि, विद्युत् उत्पादन तथा वितरण क्षेत्रमा भएको वृद्धिले अर्थतन्त्रलाई सकारात्मक दिशामा डोर्‍याएको छ। वित्तीय मध्यस्थताको कुल मूल्य अभिवृद्धिमा भएको वृद्धिले पनि यसमा योगदान पुर्‍याएको छ। शिक्षा, आवास, भोजन र अन्य सेवा क्षेत्रमा भने उल्लेख्य वृद्धि हुन सकेको छैन।

मौसमी प्रभाव समायोजित तथ्याङ्क अनुसार १८ औद्योगिक क्षेत्रमध्ये २ वटामा ऋणात्मक वृद्धि हुने अनुमान छ। विद्युत् तथा ग्यास क्षेत्रमा ४.८ प्रतिशत र आवास तथा भोजन क्षेत्रमा २.७ प्रतिशतले ऋणात्मक वृद्धि हुने देखिएको छ।

मौसमी प्रभाव समायोजन नगरिएको तथ्याङ्क अनुसार यातायात तथा भण्डारणसँग सम्बन्धित क्रियाकलापमा १४.२ प्रतिशतको उच्च वृद्धिदर रहेको छ। खानी तथा उत्खनन क्षेत्र ९.५ प्रतिशत वृद्धिदरसहित दोस्रो स्थानमा छ। निर्माण सामग्रीको आयात र उत्पादनमा भएको वृद्धिले निर्माण क्षेत्रको कुल मूल्य अभिवृद्धि ९.१ प्रतिशत पुग्ने अनुमान छ।

उत्पादनमूलक उद्योगको वृद्धिदर ७.४ प्रतिशत र निक्षेप तथा कर्जामा भएको वृद्धिका कारण वित्तीय तथा बिमा क्षेत्रको मूल्य अभिवृद्धि ६.६ प्रतिशत पुग्ने अनुमान गरिएको छ। व्यापार क्षेत्रको वृद्धिदर ६.१ प्रतिशत र सूचना तथा प्रविधि क्षेत्रको ४.९ प्रतिशत रहने अनुमान छ।

कृषि क्षेत्रको वृद्धिदर ३.२ प्रतिशत मात्रै रहने अनुमान छ। धान उत्पादनमा भएको वृद्धि, तरकारी, फलफूल र पशुपक्षीजन्य उत्पादनमा भएको वृद्धिले यस क्षेत्रको कुल मूल्य अभिवृद्धिमा सकारात्मक प्रभाव पारेको छ। थोक तथा खुद्रा व्यापार क्षेत्रमा स्वदेशी उत्पादनमा भएको वृद्धि र व्यापारजन्य वस्तुको आयातमा भएको वृद्धिले केही विस्तार देखिएको छ।

औद्योगिक वस्तुको उत्पादनमा क्रमिक सुधार आएका कारण उत्पादनमूलक उद्योग क्षेत्रको वृद्धिमा उल्लेख्य सुधार भएको छ। सार्वजनिक प्रशासन तथा रक्षा २.२ प्रतिशत, स्वास्थ्य ३.१ प्रतिशत र घरजग्गा कारोबार ३.१ प्रतिशतले बढ्ने अनुमान गरिएको छ।