मकवानपुरमा खुकुरी प्रहारपछि भाइ पक्राउ, भाउजुको शव भेटियो, दाइ सख्त घाइते

काठमाडाैं, १४ चैत्र । मकवानपुरमा सम्पती विवादमा खुकुरी प्रहार गरी देवरले भाउजुकाे हत्या गरेकाे छ भने दाजु खुकुरी प्रहारबाट सख्त घाइते भएका छन् ।
बुधबार मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१ चौकीटोलकी ३५ वर्षीया गुडिया दासको हत्या भएको हो।
बुधबार बेलुकी ९ बजे उनी आफ्नै घरको दोस्रो तलामा मृत भेटिएकी थिइन्। उनको टाउकोमा धारिलो हतियार प्रहार भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त सूचना अधिकारी इन्स्पेक्टर ठाकुरप्रसाद सापकोटले जानकारी दिए।
उनका अनुसार राति मृत भेटिएको घरमा दिउँसै प्रहरी पुगेको थियो। दिउँसो करिब ४:१० बजे सोही घरका २८ वर्षीय रूपेश दासमाथि उनकै भाइ २२/२३ वर्षका राहुल भन्ने रमेश दासले खुकुरी प्रहार गरेकाे खबर प्रहरीले पाएको थियो।
त्यसपछि उक्त घरमा प्रहरी पुग्दा रूपेसको टाउको, दाहिने हात, करङलगायतका भागमा खुकुरी प्रहार गरी गम्भीर घाइते अवस्थामा भेटिएका थिए।
उनका भाइ रमेशलाई प्रहरीले धारिलो हतियारसहित सोही स्थानबाट पक्राउ गरेकाे छ । गम्भीर घाइते भएका रूपेशलाई प्रहरीले अस्पताल पठाएकाे छ ।
साेहीदिन राति ९ बजे गुडिया घरकै दोस्रो तल्लामा मृत भेटिएको भन्ने सूचना पाएपछि प्रहरी पुनः सोही घरमा गएको थियो।
इन्स्पेक्टर सापकोटाका अनुसार प्रहरी पुग्दा दोस्रो तल्लामा गुडिया मृत भेटिएकी थिइन्। उनी रुपेश र रमेशका जेठी भाउजु हुन्।
प्रारम्भिक अनुसन्धानका क्रममा रमेशले नै आफ्नी जेठी भाउजुमाथि खुकुरी प्रहार गरी हत्या गरेको खुल्न आएको प्रहरीले जनाएकाे छ । भाउजुको हत्यापछि उनले माइला दाइ रूपेशमाथि खुकुरी प्रहार गरी हत्या प्रयास गरेकाे खुल्न आएकाे छ । घरायसी विवादका कारण घटना भएको प्रहरीले जनाएको छ।