बहिनी जिस्क्याएको निहुँमा ललितपुरकाे ओचु हाइटमा युवकले गरे साथीको हत्या
काठमाडाैं, १४ चैत । ललितपुरको इमाडोलमा एक युवकले आफ्नै साथीको हत्या गरेका छन्।
महालक्ष्मी नगरपालिका-४ ओचु हाइटमा रहेको मन्दिर अगाडि बुधबार राति एक पुरूषको हत्या भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए।
हत्या भएका व्यक्ति रामेछाप घर भई ओचुहाइट बस्ने ३० वर्षीय रिपक खाती रहेको प्रहरीले जनाएको छ। उनको हत्या आरोपमा प्रहरीले सोही ठाउँमा बस्ने २५ वर्षीय सुमन रसाइलीलाई पक्राउ गरेको छ।
खातीकाे गर्धनमा खुकुरी प्रहार भएको प्रहरीले जनाएकाे छ भने गएराति करिब पौने १ बजेतिर हत्या भएको खबर पाएपछि प्रहरी टोली खटिएको थियो।
प्रहरीका अनुसार प्रारम्भिक बयानमा रसाइलीले हत्याको कारण आफ्नी १५ वर्षकी बहिनीलाई पटक पटक जिस्क्याउने गरेको बताएका छन् । प्रहरीको प्रारम्भिक अनुसन्धानमा हत्यामा सुमनको मात्रै संलग्नता देखिएको जनाएकाे छ ।