पाल्पामा चैते धान रोपाइँको रौनक, किसान व्यस्त

पाल्पा, १५ चैत । पाल्पाका किसानहरूलाई यतिबेला चैते धान रोपाइँको चटारो बढेको छ। आलु, गहुँ जस्ता बाली भित्र्याएपछि किसानहरू धान रोपाइँमा व्यस्त भएका हुन्। पूर्वखोला, रामपुर, रम्भा, निस्दी लगायतका फाँटहरूमा किसानहरू चैते धान रोपाइँमा व्यस्त छन्।

पूर्वखोला गाउँपालिका–३ कलौलीकी गोमाया कामुले कुलोको पानीले सिञ्चित भएको आफ्नो पाँच रोपनी खेतमा चैते धान रोप्न भ्याइनभ्याइ भएको बताउनुभयो। उहाँले पानीको सुविधा भएको र उत्पादन पनि राम्रो हुने भएकाले बर्सेनि चैते धान रोप्दै आएको बताउनुभयो।

डढेटाका सोमबहादुर थापाले पनि दुई कट्ठा खेतमा चैते धान रोप्न थालेको जानकारी दिनुभयो। उहाँले बेमौसमी खेतीका रूपमा रोपिने चैते धानबाट राम्रो आम्दानी हुने भएकाले धेरै पहिलेदेखि नै चैते धान रोप्दै आएको बताउनुभयो। डढेटा, लाबे, सातबिसे, खैरेनी लगायतका फाँटका किसानहरूलाई पनि धान रोपाइँको चटारो छ।

किसानहरू खेत जोत्ने, पानी मिलाउने, ब्याड काट्ने र धान रोप्ने काममा व्यस्त छन्। कतै गोरुले खेत जोत्दै छन् भने कतै ट्र्याक्टर प्रयोग भइरहेको छ। सिँचाइको सुविधा भएकाले यहाँ चैत र बर्खा गरी दुई पटक धान रोप्ने चलन छ।

यहाँका अधिकांश किसान वर्षौंदेखि चैते धान खेतीमा आकर्षित हुँदै आएका छन्। यसले गर्दा उनीहरूलाई घरको लागि धान प्रयोग गर्न कात्तिक महिना नै कुर्नु पर्दैन। कलौलीकी किसान अग्निश्वरा बाह्रघरेले आफूले जानेदेखि नै हिउँदे धान रोप्दै आएको बताउनुभयो।

गाउँपालिकाकी कृषि शाखा प्रमुख चाँदनी चौधरीका अनुसार यस वर्ष १५ हेक्टर क्षेत्रफलमा चैते धान रोपाइँ हुने अनुमान छ, जसमध्ये सोमबारसम्म १० हेक्टरमा रोपाइँ सम्पन्न भइसकेको छ। पालिकाले कृषिलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको पालिका अध्यक्ष नुनबहादुर थापाले बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *