मकै छोडेर कफीखेतीमा महाभारतका किसान
काभ्रेपलाञ्चोक,१८ चैत्र । काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकाका किसानहरू मकै खेती छोडेर कफी खेतीमा आकर्षित भएका छन्। कफी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि किसानहरूले यसलाई प्राथमिकता दिएका हुन्।
महाभारत गाउँपालिका–५ मुख्य टोलका नीरज पुलामीले कफीखेतीबाट आम्दानी लिन थालेको तीन वर्ष भयो। मकैको तुलनामा कफी खेतीबाट धेरै आम्दानी हुने भएपछि उनी मकै छाडेर कफी खेतीमा लागेका हुन्।
उनले तीन वर्षअघि ६ सय बोट कफी रोपेर खेती सुरु गरेका थिए। यस वर्ष मात्रै चार सय किलो कफी फलेको उनले बताए। दाजुभाइ मिलेर १८ रोपनीमा कफी लगाएका उनीहरूले कफी काँचो प्रति केजी रु १३० र सफा गरेर सुकाएपछि रु ८३० सम्ममा बिक्री गरेका छन्।
सोही गाउँका अर्का किसान लालबहादुर मोक्तानले पनि मकै खेतीभन्दा कफीबाट राम्रो आम्दानी भएपछि कफी खेतीलाई प्राथमिकता दिएका छन्। स्थानीय सरकारले सिँचाइको व्यवस्था गरिदिएमा अझ उत्पादन वृद्धि गर्न सकिने उनको भनाइ छ।
नीरज र लालबहादुर मात्र होइनन्, यहाँका अधिकांश किसान कफीखेतीतर्फ आकर्षित भएका छन्। उत्पादन भएको कफी बिक्रीका लागि बजारसम्म धाउनु नपर्ने र घरमै खरिद गर्न व्यापारी आउने भएकाले पनि जिविकोपार्जनमा टेवा पुगेको स्थानीय कान्छा ब्लोन बताउँछन्। मकैले खाद्यान्नका रूपमा मात्र धान्ने गरे पनि कफीबाट नगद प्राप्त गर्न सकिने भएकाले मकैभन्दा कफी सबैको रोजाइ बन्न थालेको उनले बताए।
महाभारत गाउँपालिका–४ कोलटार लामागाउँका जगतबहादुर र शङ्खलाल थोकरले कफी खेती गरेर वार्षिक रु १५ लाखभन्दा बढी आम्दानी गर्दै आएका छन्।
वडा नं. ५ का वडा अध्यक्ष विजय राना मगरले किसानहरूले कफी खेतीमा चासो दिन थालेपछि कफी उत्पादनलाई अभियानकै रूपमा अगाडि बढाएको बताए। सिँचाइको आवश्यकता भएकाले गाउँपालिका र प्रदेश सरकारले सहयोग गरेमा यहाँका किसानको जीवनस्तर परिवर्तन गर्न सकिने उनको भनाइ छ।
महाभारत साना किसान कृषि सहकारी संस्था लिमिटेडले कफीका लागि आवश्यक तालिम, प्रशोधन गर्ने मेसिन, सुकाउने तारजाली, त्रिपाललगायतका सामग्री सहयोग गर्दै आएको संस्थाका अध्यक्ष हस्तबहादुर दर्लामीले बताए।
महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले गाउँपालिकाले किसानको आर्थिक उपार्जनमा सहयोग पुर्याउने गतिलो माध्यम कफी खेती भएकाले पालिकाले अनुदानमा खेतीलाई व्यवसायीकरण गर्दै लगेको बताए। डाँडापारिको जनताको लागि पहिलो आवश्यकता बाटो र बिजुली रहेकामा त्यसलाई पूरा गरेर हाल नागरिकको जीवनस्तर माथि उठाउन कफी उत्पादनमा जोड दिएको र बिरुवा वितरण, प्रशोधन उपकरणलगायत अन्य सामग्री वितरण गर्दै आएको उनले बताए।
कफी खेतीलाई वृद्धि गर्न पालिकाको ‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ २० को नोट’ अभियान चलाएको र सो विवरण कृषि शाखामा पेस गरेर एक बोट बराबर रु २० का दरले अनुदान दिँदै आएको उनको भनाइ छ। सोही योजनाअनुसार वडा नं. ५ मा कफी उत्पादन अभियानलाई प्रभावकारी बनाउन बागमती प्रदेश सरकारसँगको साझेदारीमा ‘समुदायमा आधारित एक वडा, एक उत्पादन’ कार्यक्रम लागू गरिसकेको उनले बताए।
कृषि विकास कार्यालय प्रमुख कुलप्रसाद दवाडीले महाभारत गाउँपालिकामा गत वर्षबाट सामुदायमा आधारित एक वडा, एक उत्पादन कार्यक्रम सञ्चालन हुँदै आएकामा यस वर्ष कफी उत्पादनको क्षेत्रमा उत्पादन गुणस्तर र उत्पादकत्व वृद्धिका लागि कफी प्रशोधन प्रविधि विषयक तालिम प्रदान गरिएको बताए।
यस वर्ष मात्रै ४० हजार कफीको विरुवा वितरण गर्ने र गरिरहेको खेतीलाई प्रविधिमैत्री बनाएर गुणस्तरीय कफी उत्पादनमा जोड दिने कृषि कार्यालयले जनाएको छ।