माकलबारीमा गाडिएको शव फेला, ६ जना पक्राउ
काठमाडौँ, १८ चैत्र । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८, माकलबारीमा एक युवकको शव गाडिएको अवस्थामा फेला परेको छ।
सर्लाहीको चक्रघट्टा गाउँपालिका–८ का १९ वर्षीय राहुल साहको शव माकलबारीमा सञ्चालित आरके मोटरसाइकल वर्कसपको पछाडिको जमिनमा गाडिएको अवस्थामा फेला परेको हो।
प्रहरीले उक्त घटनामा संलग्न भएको आरोपमा एक भारतीय नागरिकसहित पाँच जना नेपालीलाई पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धान अनुसार लेनदेनको विषयलाई लिएर साहको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।
गोकर्णेश्वर नगरपालिका–५, बाहुनधारामा बस्दै आएका साह चैत ११ गतेदेखि हराइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बौद्धको टोलीले खोजी थालेको थियो।
प्रहरीले उक्त घटनामा संलग्न सर्लाहीको चक्रघट्टा गाउँपालिकाका २२ वर्षीय निपु मण्डल, १८ वर्षीय विजय यादव, १८ वर्षीय करनकुमार महतो, २३ वर्षीय जोधन मण्डल र ४५ वर्षीय उत्तम मण्डल तथा भारतीय नागरिक २९ वर्षीय सुनिल शर्मालाई पक्राउ गरेको छ।
उनीहरूलाई काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
