काठमाडौँको आकाश खुल्न अझै केही दिन लाग्ने
काठमाडौँ, २१ चैत । वायु प्रदूषणका कारण पछिल्ला केही दिनदेखि धुम्म रहेको काठमाडौँ उपत्यकाको मौसम सफा हुन अझै केही दिन लाग्ने भएको छ ।
मौसमविद् बिनु महर्जनले दिनुभएको जानकारी अनुसार, भोलि शुक्रबारदेखि हावाको गति आजको भन्दा बढ्ने सम्भावना छ । यसले गर्दा मौसममा क्रमशः सुधार हुँदै आकाश खुल्ने अपेक्षा गरिएको छ ।
उहाँका अनुसार हाल काठमाडौँ उपत्यकामा वर्षा हुने कुनै सम्भावना देखिएको छैन, तर आकाशबाट बादल क्रमशः हट्दै जाने संकेतहरू भने देखिएका छन् । आज (बिहीबार) तापक्रम हिजो (बुधबार) को तुलनामा केही घटेको भए पनि भोलिदेखि तापक्रम पुनः बढ्ने क्रममा रहनेछ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसैको असरले लुम्बिनी प्रदेशसहित देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ ।