बढ्दो वायु प्रदूषणप्रति स्वास्थ्य मन्त्रालयको गम्भीर चासो, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं, २१ चैत । काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा वायु प्रदूषणको स्तर खतरनाक तहमा पुगेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै वायु प्रदूषणका कारण जनस्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै सावधानी अपनाउन अनुरोध गरेको हो।

विश्वको वायु गुणस्तर सूचकांक अनुसार हालैका दिनमा नेपाल विश्वकै अत्यधिक प्रदूषित देशहरूको सूचीमा परेको छ। काठमाडौं उपत्यकाको वायु प्रदूषण स्तर ३४८ एक्यूआई पुगेको छ, जसलाई ‘खतरनाक’ श्रेणीमा राखिन्छ। एक्यूआई ३०१ भन्दा माथि हुनुलाई मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक मानिन्छ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले हालको प्रदूषणले दम, फोक्सोसम्बन्धी रोग, आँखा, नाक, घाँटी र छालाको एलर्जी, हृदय रोगलगायत तत्कालिन तथा दीर्घकालीन स्वास्थ्य समस्याहरू निम्त्याउन सक्ने बताउनुभयो। उहाँले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा श्वासप्रश्वास र मुटुसम्बन्धी दीर्घरोगीहरूलाई थप जोखिम हुने भएकाले विशेष सावधानी अपनाउन सुझाव दिनुभएको छ।

मन्त्रालय र प्राधिकरणले बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा श्वासप्रश्वास र मुटुसम्बन्धी दीर्घरोगीहरूलाई अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कने, बाहिर निस्कनै परे गुणस्तरीय मास्क अनिवार्य लगाउने, धेरै प्रदूषण भएका सडक, निर्माण स्थल वा औद्योगिक क्षेत्रमा नजाने, गर्मीयाममा बढ्ने वन डढेलो नियन्त्रणमा सघाउने, निर्माण कार्य गर्दा धुलो उड्न नदिने उपाय अपनाउने, खुला स्थानमा फोहोर नजलाउने र उचित व्यवस्थापन गर्ने, सकभर सार्वजनिक यातायात प्रयोग गर्ने वा अनावश्यक सवारी साधन नचलाउनेलगाएतका सुझाव दिएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि बढ्दो गर्मी, वन डढेलो, निर्माण कार्य र औद्योगिक गतिविधिका कारण प्रदूषण बढेको जनाएको छ। प्राधिकरणले उद्योग, व्यवसाय र निर्माण कम्पनीहरूलाई प्रदूषण न्यूनीकरणका उपाय अपनाउन आग्रह गर्दै सम्बन्धित निकायलाई प्रदूषण मापन गरी तत्काल सुधारका कदम चाल्न निर्देशन दिएको छ।