लोभलाग्दो व्यावसायिक च्याउखेतीमा रम्दै जलजला सावित्री
पर्वत, २६ चैत । जलजला गाउँपालिका–८ फर्सेकी सावित्री खत्री व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्न सफल भएकी छन् ।
कृषि पेसाबाट गाउँमै केही गर्न सकिन्छ भनेर विगत ११ वर्षदेखि व्यावसायिक कृषिखेतीमा सक्रिय खत्रीले च्याउ र तरकारीखेतीबाट बर्सेनि रु १२ लाखभन्दा बढी आम्दानी गर्न थालेका हुन् ।
चारवटा गुम्बज टनेलमा कन्ये र गोब्रे च्याउखेती उत्पादन गरी छिमेकी जिल्ला बागलुङ, म्याग्दी र पर्वतको कुश्मा बजारमा खपत गर्ने गरेको अगुवा कृषक खत्रीको भनाइ छ । यस वर्ष च्याउबाट मात्रै रु सात लाखभन्दा बढी आम्दानी भएको उहाँले बताउनुभयो । “च्याउखेतीबाट हुने आम्दानीबाट सन्तुष्ट छु, उत्पादित च्याउको बिक्रीका लागि कुनै समस्या छैन,” कृषक खत्रीले भन्नुभयो । गोब्रे च्याउको प्रतिकिलो रु ५०० र कन्येलाई रु २०० मा बिक्री गर्ने गरेका उहाँले गोब्रे च्याउबाट यस वर्ष रु पाँच लाख र कन्ये च्याउबाट रु दुई लाख आम्दानी भएको बताउनुभयो ।
कच्चापदार्थसहितका साम्रगीसमेत तयार गर्ने गर्नुभएकी कृषक खत्रीले सात रोपनी जमिनमा उत्पादन हुने अन्य तरकारीबाट रु पाँच लाखको बिक्री गर्नुहुन्छ । च्याउबाहेक मौसमअनुसार अन्य तरकारी उत्पादन गर्दै आएको बताउनुभयो ।
तीनवटै जिल्लाका सदरमुकाम नजिकै रहेको र कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा–बेनी सडक नजिकै रहेकाले उत्पादित च्याउ र तरकारी बजारीकरणमा समस्या नरहेको उहाँले बताउनुभयो ।
सामाजिक एवं राजनीतिक रुपमा सक्रिय रहनुभएकी खत्रीले राम्रो उत्पादन दिने र श्रमिक पनि कम लाग्ने हुँदा च्याउखेतीलाई विस्तार गर्दै जानुभएको छ । वैदेशिक रोजगारीबाट फर्किनुभएका श्रीमान् भीमबहादुर केसीले च्याउ र अन्य तरकारीखेतीको उत्पादन तथा बजारीकरणमा सघाइरहनुभएको छ ।
खेती गर्नलाई धेरै ठूलो ठाउँ, समय पनि नचाहिने र बेच्नलाई सजिलो भएकाले यसप्रति श्रीमान्ले विदेश नगई सघाउन थालेको खत्रीले बताउनुभयो । मेहनत गर्ने हो श्रीमान्ले विदेशमा कमाउने पैसा दुवै मिलेर यहीँ दुःख गरी कमाउन सकिने खत्रीको अनुभव छ । खत्रीले च्याउखेतीबाट भएको कमाईले छोरीलाई उच्च शिक्षाका लागि विदेश पठाउन सफल हुनुभएको छभने छोरालाई समेत निजी विद्यालयमा पढाउनुभएको छ । यसका अलावा बैङ्कमा बचत गर्न सफल भएको उहाँले बताउनुभयो ।
पछिल्लो समय गाउँपालिकामा व्यावसायिक रुपमा लाग्ने कृषकको आकर्षण बढेको रहेको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो । “गाउँपालिकाले पनि प्रोत्साहन गरिरहेको छ, अबका दिनमा च्याउखेतीमा अनुदान समेत बढाउँछौँ,” आचार्यले भन्नुभयो ।