अछाममा भीषण आगलागी, जयगढ बजारका १० पसल जले
अछाम, २७ चैत्र । अछाम बान्निगढी जयगढ गाउँपालिकामा रहेको जयगढ बजारमा भीषण आगलागी भएको छ ।
मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गर्नुभएको आइएमई केन्द्रमा रहेको सिलिण्डर ग्यास पडकिएर आगलागी भएको हो ।
आगलागीबाट अहिलेसम्म १० वटा पसल जलेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिए ।
बेलुका ७ बजेतिर सल्किएको आगोका कारण बजारमा रहेका हिमाल साउदको मोबाइल पसल, रामबहादुर राउतको जडीबुटी पसल, मञ्जु साउदको जडीबुटी पसल, रति साउदको भाडा पसल र गोकुल साउदको किराना पसल, किस्मत सुनारको सुनचाँदी पसल, खगेन्द्र साउदको किराना पसल, रतन साउदको घर र कालु सुनारको सुनचाँदी पसलमा क्षति पुगेको अछामका प्रहरी प्रमुख भण्डारीले जानकारी दिनुभयो ।
आगलागीका कारण जयगढ बजारमा ठूलो क्षति पुगेको प्रहरीको प्रारम्भिक अनुमान छ ।