देश स्थायित्व, विकास र सुशासनको बाटोमा छ, जनताले फ्याँकिसकेको राजतन्त्र ब्युँतनेवाल छैन : प्रधानमन्त्री ओली

झापा, ३० चैत । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ठुला दलको सहभागितामा सरकार बनेसँगै देश स्थिरता, स्थायित्व, विकास र सुशासनको बाटोमा अघि बढेको बताउनुभएको छ ।

नेकपा (एमाले) को झापा जिल्ला कमिटीले आज दमकमा आयोजना गरेको जागरणसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासका नाममा तमासा (स्टन्ट) गर्नेहरुले ड्राइभिङ सिक्दै नसिकी गाडी चलाउँन खोजे झैँ ढुंगा हानेका भरमा राजनीति चलाउन खोज्छु भनेर उधुम मच्याए पनि उनीहरुलाई जनताले नपत्याएको बताउनुभयो ।

“देश अब कानुन र विधि अनुसार अगाडि बढ्छ । आन्दोलनका नाममा बैँक डुबाउनेहरु, आगजनी गर्नेहरु रक्सीका बोतल लुटेर भाग्नेहरुले जनताले फ्ँयाकिसकेको राजतन्त्र ब्युँताउन क्रान्ति गर्छु भन्दा कसैले उल्किनु वा भ्रम पाल्नु पर्दैन । ठुला कुरा गर्ने र हल्ला गर्नेहरुले देश बनाउँछु भनेर धाक लगाएर केही हुँदैन । त्यस्ताहरुको अशली अनुहार चैत १५ गतेको तीनकुनेको अराजक घटनाबाट देखिइसकेको छ ।”

प्रधानमन्त्री ओलीले भन्नुभयो, “विगमा म प्रधानमन्त्री हुँदा पार्टीभित्रका स्वार्थी र फुटवादीले पार्टीलाई सिध्याउने असफल प्रयास गरेका थिए । अदालतको समेत प्रयोग गरेर हामीलाई सरकारबाट बाहिर पठाए । तर जनताको अभिमतबाट हामी पुनः सरकारको नेतृत्वमा आएका छौँ । अब हामीले स्थिरता र स्थायित्वको अठोट गरेर अगाडि बढेका छौँ । तपाईँहरु अस्थिरतावादीहरुको कुनै भ्रममा पर्नु पर्दैन । ”

प्रधानमन्त्री ओलीले निर्माण कार्य रोकिएका र बन्न बाँकी रहेका बाटा र आयोजनाहरु अब अगाडि बढ्ने जनाउँदै आगामी बजेट र नीति तथा कार्यक्रममा नयाँ ढंगले अगाडि बढाउने उचित नीति र कार्यक्रम लिएर आउने जनाउनुभयो । उहाँले कृषिको आधुनिकीकरण र विस्तारका लागि प्राथमिकता दिँदै उद्यमशीलताको विकास गर्न सरकारले प्राथमिकता दिने बताउनुभयो । “हामीले अध्यादेश हुँदै विभिन्न पाँच महत्वपूर्ण कानुन ल्याएका छौँ । भूमिसम्बन्धी कानुन पनि चाँडै आउँछ । यसप्रति निजी क्षेत्र र सबैको सकारात्मक धारणा रहेको छ । घाटामा रहेको अर्थतन्त्र उकालो लाग्न थालेको छ ।”, उहाँले भन्नुभयो, “भूमिहीन सुकुम्बासीहरुका समस्या समाधान गर्न अब आउने संसदको अधिवेशनको सुरुमै कानुन ल्याइनेछ । मुलुकलाई गरिबीबाट मुक्त गराउन हामी क्रियाशील रहनेछौँ । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न हामी दत्तचित्त भएर लाग्नेछौँ । एमालेविनाको नेपालको सपना देख्नेहरुको देशद्रोही सपना पूरा हुँदैन । एमाले झन् ठुलो भएर विजयी भएर आउनेछ । जनतामा आधारित यो पार्टी देशको भविष्य हो । एमाले असफल भए देश असफल हुन्छ ।”

कोशी प्रदेश विविधतायुक्त र जागरुक प्रदेश भएको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यस जागरणलाई व्यवहारमा उतार्न एमालेको प्रदेश र मातहतका कमिटी नयाँ उत्साहका साथ सक्रिय र चुस्त दुरुस्तरुपमा घरघर र व्यक्ति व्यक्तिमा पुग्ने गरी परिचालित हुनुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले युवाहरुलाई आफ्नो देश आफैले बनाउँछुपर्छ भन्ने भावनाका साथ स्वदेशमै रोजगारी र उद्यमशीलताको विकासमा लगाउन सरकारले आवश्यक कदम चालिरहेको बताउनुभयो ।

एमालेले वैशाख ११ गते (लोकतन्त्र दिवस) का दिन काठमाडौँमा युवा महोत्सव आयोजना गर्ने उद्घोष गर्दै ४० वर्षमुनिका युवाहरु त्यसदिन काठमाडौँ आएर राजतन्त्र हटाएर जनताले जितेको दिनको उत्सव मनाउन आव्हान गर्नुभयो । “एमालेको साथमा युवा छैनन् । एमालेका युवाहरु सिध्धिए भन्नेहरुलाई जवाफ दिन हामीले यो कार्यक्रम गरेका छौँ । म चुनौतीका साथ भन्छु, अरु कुनै पार्टीले यति धेरै युवाहरुलाई भेला पार्न सक्दैन ।” उहाँको भनाइ थियो “युवाहरुले आफ्नो सामथ्र्यको पूर्ण प्रयोग गरेर देशका निम्ति जुट्नुपर्छ । आफ्नो पेसागत काम र परिवारको हेरचाहमा पनि लाग्नुपर्छ ।”
कार्यक्रममा एमालेका उपाध्यक्ष गुरु बराल, सचिव योगेश भट्टराईलगायत सहभागी कार्यक्रममा कोशी प्रदेश इञ्चार्ज शेरधन राई, प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलगायतले सम्बोधन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *