बर्सिलोना र पिएसजी हारपछि पनि च्याम्पियन्स लिगको सेमिफाइनलमा
डर्टमन्ड ३ वैशाख । बार्सिलोना र पिएसजी बुधबार च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्न सफल भएका छन् । च्याम्पियन्स लिग क्वाटरफाइनलको दोस्रो लेगमा बिहिबार जर्मनीको बोरुसिया डर्टमन्ड र इङ्गल्यान्डको एस्टन भिल्ला जितपछ पनि निराश तथा स्पेनको बार्सिलोना र फ्रान्सको पेरिस सेन्ट जर्मन (पिएसजी) हारपछि पनि खुशी बने ।
सेरोउ ग्वेरासीको ह्याट्रिकको सहयोगमा गत उपविजेता जर्मनीको डर्टमन्डले क्वाटरफाइनलको दोस्रो लेगमा बार्सिलोनालाई ३–१ ले हराएको थियो । यद्यपि पहिलो लेगमा ४–० ले जित हात पारेकोले बार्सिलोना कूल ५–३ गोल अन्तरमा सेमिफाइनलमा पुग्यो । बर्सिलोना सन् २०१८–१९ को सत्रपछि पहिलो पटक च्याम्पियन्स लिगको अन्तिम चारमा पुगेको हो । बार्सिलोनाले सेमिफाइनलमा इटालीको इन्टर मिलान अथवा जर्मनीकै बायर्न म्युनिखमध्ये एकविरुद्ध खेल्नेछ ।
ग्वेरासले खेलको ११ औँ मिनेटमा पेनाल्टीमा पहिलो, ४९ औँ मिनेटमा हेडरमार्फत् दोस्रो र ७६ औँ मिनेटमा गोलपोस्ट नजिकबाट तेस्रो गोल गरे । बर्सिलोनाविरुद्ध ह्याट्रिक गरेपछि ग्वरासी १३ गोलसहित चालू च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ता बनेका छन् । खेलको ५४ औँ मिनेटमा रामी बेन्सेबाइनीले आत्मघाती गोल गरेपछि डर्टमन्डले एक गोल वेहोरेको थियो ।
प्रिमियर लिग क्लब एस्टन भिल्लाले पिएसजीलाई ३–२ ले हरायो । तर सेमिफाइनलमा स्थान बनाउन सकेन । पिएसजीले क्वाटरफाइनलको पहिलो लेगमा ३–१ ले जितेको थियो । दोस्रो लेगमा पिएसजीका लाग असरफ हकिमी र नुनो मेन्डिजले गोल गरे । एस्टन भिल्लाका लागि पूर्वार्धमा युरी टिलिमान्सको तथा उत्तरार्धमा दुई मिनेटको अन्तरमा जोन म्याकगिन र इज्री कोन्साले गोल गरे ।