आर्सनल र इन्टर मिलान च्यामिपयन्स लिगको सेमिफाइनलमा
म्याड्रिड, वैशाख ४ गते । आर्सनलले बिहिबार रियल म्याड्रिडलाई २–१ ले हराएर च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाएको छ । आर्सनले सन् २००९ पछि पहिलो पटक च्याम्पियन्स लिगको अन्तिम चारमा पुगेको हो । यस नतिजासँगै रियल म्याड्रिडको उपाधि रक्षा अभियानमा भने पूर्णविराम लाग्यो । रियल म्याड्रिड पििछल्ला चार सत्रमा तेस्रो पटक च्याम्पियन हुने दाउमा थियो ।
आर्सनल कूल ५–१ गोल अन्तरले अन्तिम चारमा पुगेको हो । क्वाटरफाइनल पहिलो लेगमा घरेलु मैदानमा रियल म्याड्रिडलाई ३–० ले हराएपछि नै आर्सनल सेमिफाइनलको सङ्घारमा पुगेको थियो । आर्सनलले सेमिफाइनलमा पेरिस सेन्ट जर्मन (पिएसजी)को सामना गर्नेछ ।
खेलको ६५ औँ मिनेटमा मिकेल मेरिनोको पासमा बुकायो साकाले गोल गरी आर्सनललाई अगाडि पारेका थिए । यसअघि साका पेनाल्टीमा गोल गर्नबाट चुकेका थिए । साकाको गोलको बराबरी केही मिनेटपछि नै भिनिसियर जुनियरले गरे । डिफेन्डर विलियम सालिबाको गल्तीको फाइदा उठाउँदै जुनियरले गोल गरेका हुन् । तर इन्जुरी समयमा मेरिनोको अर्को पासमा गाब्रियल मार्टिनेलीले गोल गरी आर्सनललाई जित दिलाए ।
यसैगरी इटालीको इन्टर मिलान पनि जर्मनीको बायर्न म्युनिखलाई दोस्रो लेगमा २–२ ले बराबरीमा रोकेर सेमिफाइनलमा पुगेको छ । पहिलो लेग २–१ ले जितेको इन्टर मिलान समग्रमा ४–३ गोल अन्तरमा अगाड बढेको हो । इन्टरले अन्तिम चारमा बार्सिलोनाको सामना गर्नेछ । सन् २०१० मा इन्टरले च्याम्पियन्स लिग जित्ने यात्रामा सेमिफाइनलमा बार्सिलोनलाई पनि निराश पारेको थियो । इन्टरका लाग लाउटारो मार्टिनेज र बेन्जामिन पाभर्डले तथा बायर्न म्युनिखका लागि हेरी केन र एरिक डियरले गोल गरे । पाभर्ड बायर्नकै पूर्व खेलाडी हुन् । एपी