हुम्लामा बाढीले भेडीगोठसहित २६ बाख्रा पुरिए
हुम्ला, ४ वैशाख । हुम्लामा आज बिहान परेकाे अत्यधिक वर्षाले अदानचुली गाउँपालिका–३ स्थित गोठसहित पुरिएर २६ बाख्रा मरेका छन् । अदानचुली–३ का आइते बुढाको गोठभित्र रहेका ७० मध्ये २६ वटा बाख्रा बाढीपहिरो आउँदा पुरिएर मरेका हुन् ।
भेडीगोठभित्र पहिरो पस्नुका साथै गोठ भत्किँदा २६ बाख्रा मरेकाे पीडित किसान बुढाले बताउनुभयो । गोठभित्र रहेकामध्ये २९ वटा बाख्रा गाउँलेको सहयोगमा जीवित निकालिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी बाख्रा हराइरहेकाले खोजीकार्य भइरहेको छ ।
एक्कासि आएको वर्षाले ठूलो क्षति गरेको बताउँदै बुढाले दुःखकष्ट र मेहनतका साथ पालिएका बाख्राको गोठभित्र पसेको पहिरोका कारण २६ वटा बाख्रा मरेका र केही बेपत्ता रहेका उल्लेख गर्नुभयो ।
आज बिहान आएको वर्षाले अदानचुली गाउँपालिकाका विभिन्न स्थानमा क्षति पुर्याएको छ । बिहान परेको मुसलधारे वर्षाले श्रीनगर बजारमा व्यवसाय गर्दै आएका व्यवसायीका अस्थायी टहरासहित पसलमा राखिएका सामानमा क्षति पुर्याएको स्थानीयले बताएका छन् ।
अविरल वर्षापछिको बाढीले अदानचुलीमा ११ पसल, एक घर र एक भेडीगोठमा क्षति पुर्याएको जनाउँदै ११ वटा पसल बगाएको सञ्चारकर्मी मोहनसिंह बुढाले बताउनुभयो ।