एमालेको ‘युथ सेलिब्रेशन’ भोलि: काठमाडौंमा एक लाख युवा उतार्ने
काठमाडौँ, १० वैशाख । नेकपा (एमाले) ले पार्टी स्थापना दिवस र लोकतन्त्र दिवसको अवसरमा भोलि (वैशाख ११ गते) काठमाडौँमा ‘युथ सेलिब्रेशन’ नामक विशेष कार्यक्रम आयोजना गर्दैछ ।
पार्टीले लोकतन्त्र दिवसलाई ‘जनताले जितेको दिन’ को रूपमा मनाउँदै यो विशेष कार्यक्रम गर्न लागेको हो ।
राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेवेले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिनुभयो । “जनताले जितेको ऐतिहासिक दिनलाई नेपाली युवाहरूले सेलिब्रेशन गर्नुपर्छ । यो लोकतन्त्रको उत्सवको रुपमा युवाहरु अघि बढ्नुपर्छ,” अध्यक्ष थेवेले भन्नुभयो, “एमालेका ४० वर्षमुनिका युवाहरु सहभागी हुन आएका छौं । तयारी अन्तिम चरणमा पुगिसकेकाे छ । भोलि एक लाख युवाहरुलाई हामी स्वागत गर्दैछौं ।”
उहाँले भोलिको कार्यक्रममा सहभागी एक लाख युवाले देश निर्माणको संकल्प लिएर अघि बढ्ने बताउनुभयो । कार्यक्रमलाई एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेता र युवा नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।