बजेट अधिवेशन आजदेखि, प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं, १२ वैशाख । संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको पहिलो बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।

संसदको हिउँदे अधिवेशन गत चैत १९ मा अन्त्य भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एक महिनाको बिदापछि अधिवेशन सुरु गर्ने तयारी गरेपनि शिक्षकहरुको आन्दोलनले संसदको बजेट अधिवेशन केही दिन अगावै बोलाइएको हो ।

शैक्षिक हड्ताल गरेर काठमाडौंका सडकमा प्रदर्शन गरिरहेका शिक्षकहरुले विद्यालय शिक्षा ऐन जारी गर्न माग गरेका छन् । शिक्षकहरुले आन्दोलन जारी राखेका छन् ।

बजेट अधिवेशनको पहिलो दिन आज प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने भएकाे छ । प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते आगामी आर्थिक वर्षका लागि अर्थमन्त्रीले बजेट प्रस्तुत गर्नुहुने छ । संघीय संसद्को यस अधिवेशनलाई बजेट अधिवेशनका रूपमा पनि लिइन्छ । यही वैशाख १९ गते नीति तथा कार्यक्रम प्रस्तुत हुने र ‘प्रि बजेट’ छलफल वैशाख २८ देखि हुने सम्भावना रहेको संसद् सचिवालयका एक अधिकारीले बताए । बजेट प्रस्तुत हुने १५ दिनअगावै प्रि बजेट छलफल गर्नुपर्ने कानुनी प्रावधान छ ।

अधिवेशनमा सङ्घीय निजामती सेवा ऐन र विद्यालय शिक्षासम्बन्धी विधेयक पारित गर्ने प्रयत्न हुने छ । अधिवेशन सञ्चालनसम्बन्धी सम्पूर्ण तयारी पूरा भएको सचिवालयका प्रवक्ता एकराम गिरीले बताउनुभएको छ ।