सत्ता साझेदारप्रति गोकर्ण विष्टको टिप्पणी-‘सत्तामा हो कि प्रतिपक्षमा, चिन्नै गाह्रो भो’

काठमाडौँ, १२ वैशाख । नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार राजनीतिक स्थिरताका लागि बनेको बताउँदै यसको निरन्तरतामा शंका नगर्न आग्रह गर्नुभएको छ ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले सत्ता साझेदार दलभित्रैबाट आएका असन्तुष्ट अभिव्यक्तिहरूप्रति लक्षित गर्दै कटाक्ष गर्नुभयो ।

सचिव विष्टले दुई ठूला दल (एमाले र सत्ता साझेदार) बीच भएको सात बुँदे सहमतिलाई इमान्दारिताका साथ कार्यान्वयन गर्दै सरकार अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “यो सरकार गयो गयो भनेर निराशा र अस्थिरता फैलाउने प्रयास भइरहेको छ, जसमा कुनै सत्यता छैन । दुई दलबीच आपसी समझदारी र सहमतिकै आधारमा सरकार अघि बढिरहेको छ ।”

उहाँले गठबन्धनभित्र कुनै समस्या वा असहमति भए समाधानका लागि राजनीतिक संयन्त्रहरू रहेको र त्यहीँ छलफल गर्नुपर्नेमा जोड दिनुभयो ।

सरकारमा रहेर पनि प्रतिपक्षजस्तो भूमिका खेल्ने प्रवृत्ति देखिएको भन्दै विष्टले टिप्पणी गर्नुभयो, “कहिलेकाहीँ त यस्तो लाग्छ, सत्तामा रहेका साथीहरू सत्तामा हुनुहुन्छ कि प्रतिपक्षमा, चिन्न पनि गाह्रो हुने अवस्था पैदा हुन्छ ।” उहाँले यस्तो अवस्थाबाट माथि उठेर गठबन्धन सरकारलाई मर्यादित ढंगले अगाडि बढाउन सबैलाई आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *