निर्वाह भत्ता माग गर्दै आन्दोलनमा रहेका आवासीय चिकित्सकले गरे ओपिडी बहिष्कार

काठमाडौँ, १२ वैशाख । सरकारी निर्णयअनुसार निर्वाह भत्ता पाउनुपर्ने माग राख्दै आन्दोलनरत आवासीय चिकित्सकहरूले आज अस्पतालहरूमा बहिरंग विभाग (ओपिडी) सेवा बहिष्कार गर्दा देशभरका बिरामीहरू मर्कामा परेका छन् ।

निजी मेडिकल कलेजका आवासीय चिकित्सकहरू २३ दिनदेखि आन्दोलनमा रहेकोमा आज सरकारी चिकित्सकहरूले पनि ऐक्यबद्धता जनाउँदै ओपिडी सेवा ठप्प पारेका हुन् ।

नेपाल चिकित्सक सङ्घको आह्वानमा भएको यो बहिष्कारका कारण काठमाडौँ उपत्यकाका वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्रिवि शिक्षण अस्पताल लगायतका प्रमुख स्वास्थ्य संस्थाहरूमा ओपिडी सेवा प्रभावित भएको छ । आकस्मिक तथा सघन उपचार जस्ता अत्यावश्यक सेवा भने जारी राखिएको अस्पतालहरूले जनाएका छन् ।

वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले आवासीय चिकित्सकहरूको आन्दोलनले ओपिडी सेवामा आंशिक प्रभाव परेको तर उपलब्ध चिकित्सकहरूले सेवा दिइरहेको र आकस्मिक तथा सघन उपचार सेवा भने निरन्तर रहेको बताउनुभयो । वीरमा मात्रै दैनिक करिब दुई हजार बिरामीले ओपिडी सेवा लिने गरेका छन् ।

यता, राष्ट्रिय ट्रमा सेन्टरमा भने ओपिडी सेवा पूर्ण रूपमा ठप्प रहेको निर्देशक डा. बद्री रिजालले जानकारी दिनुभयो । “दैनिक ४०० देखि ५०० सम्म बिरामी आउँछन् । ओपिडी बन्द हुँदा समस्या परेको छ,” उहाँले भन्नुभयो ।

चिकित्सा शिक्षा आयोगको १६औँ बैठकले निर्णय गरे बमोजिमको निर्वाह भत्ता हालसम्म पनि नपाएको भन्दै आवासीय चिकित्सकहरू आन्दोलनमा उत्रिएका हुन् । निर्णय कार्यान्वयन नभएसम्म आन्दोलन जारी राख्ने उनीहरूको अडान छ । ‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समिति’का संयोजक शेषराज घिमिरेले आज उपत्यकामा मात्रै करिब एक हजार चिकित्सक आन्दोलनमा सहभागी भएको र माग पूरा नभएसम्म आन्दोलन नरोकिने बताउनुभयो ।

चिकित्सक सङ्घकाे सेवा अवरोधले सर्वसाधारणमा पर्न गएको असुविधाप्रति क्षमा याचना गर्दै यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने चेतावनी दिएको छ ।

यसैबीच, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बिहीबार नेपाल चिकित्सक सङ्घ र आवासीय चिकित्सकका प्रतिनिधिहरूसँग वार्ता गर्नुभएको थियो । वार्तामा उहाँले आयोगको निर्णय कार्यान्वयन नगर्ने निजी मेडिकल कलेजहरूलाई मन्त्रालयले कुनै पनि सहयोग नगर्ने बताउनुभएको समाचारमा उल्लेख छ ।