शिक्षक महासंघका प्रतिनिधिहरुको भूमिकामाथि एमाले सांसद गैरेको प्रश्न, आन्दोलनलाई सरकार ढाल्ने अस्त्र बनाउन मिल्छ ?

काठमाडौं, १६ वैशाख । नेकपा एमालेका सांसद ठाकुर गैरेले हाल आन्दोलनरत शिक्षक महासंघका प्रतिनिधिहरुको भूमिका र नियतमाथि प्रश्न उठाएका छन्।

प्रतिनिधिसभाको बैठकमा आफ्नो धारणा राख्दै सांसद गैरेले शिक्षक महासंघका प्रतिनिधिहरु प्रधानमन्त्री र मन्त्रीहरुसँग वार्ता गरेर भित्र उत्साहित देखिए पनि बाहिर निस्किएपछि असन्तुष्ट जस्तो देखिने गरेको बताए।

उनले भने, ‘हामीले देखिरहेका छौँ। शिक्षक महासंघका साथीहरू प्रधानमन्त्रीसँग छलफल गरेर फर्किँदा उत्साहित भएको समाचार आउँछ। तर बाहिर आएपछि अनुहार फेरि नमिठो हुन्छ। सत्तारुढ दलका नेता र मन्त्रीहरूको बैठकमा पनि खुसी भएर फर्किएको देखिन्छ, जब बाहिर आउनुहुन्छ समस्या जहाँको त्यही हुन्छ।’

सांसद गैरेले शिक्षक आन्दोलनलाई विपक्षी दलहरूले वर्तमान सरकारलाई ढाल्ने राजनीतिक अस्त्रको रुपमा प्रयोग गरेको समेत आरोप लगाए।