सिरहामा मोटरसाइकल छोएको निहुँमा युवकमाथि खुकुरी प्रहार, ३ जना पक्राउ
सिरहा, १९ वैशाख । सिरहाको लहान नगरपालिका-३ दंग्राहा टोलमा मोटरसाइकलले छोएको निहुँमा भएको विवादमा एक युवकमाथि खुकुरी प्रहार भएको छ ।
खुकुरी प्रहारबाट २७ वर्षीय देवकुमार महतो घाइते भएका छन् भने घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
घाइते देवकुमारको प्रादेशिक अस्पताल सिरहामा उपचार भइरहेको छ । उनको टाउको, घाँटी र ढाडमा चोट लागेको र अवस्था सामान्य रहेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार, बुधबार स्थानीय ६२ वर्षीय जिवछ महतोका छोरा २१ वर्षीय मनिष महतोले चलाएको मोटरसाइकलले देवकुमारलाई छोएपछि विवाद सुरु भएको थियो । त्यसपछि जिवछ महतोका परिवारका सदस्यहरु मिलेर देवकुमारलाई कुटपिट गरेका थिए । सोही क्रममा जिवछका अर्का छोरा १९ वर्षीय मुकेश महतोले देवकुमारमाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।
घटनापछि प्रहरीले जिवछ, उनकी श्रीमती ६० वर्षीया सीतादेवी महतो र छोरा मनिषलाई पक्राउ गरेको छ । खुकुरी प्रहार गर्ने मुख्य मुकेश भने फरार छन् ।