कालीगण्डकीमा पुल नबन्दा सास्ती, ४० परिवार साँघुको भरमा
मुस्ताङ, १९ वैशाख । मुस्ताङको थासाङ गाउँपालिका–२ मा राष्ट्रिय राजमार्गले छोए पनि सोही वडाका दुई गाउँ कालीगण्डकी नदीका कारण अझै सडक सञ्जालबाट टाढा छन् । वडा नं. २ का कोवाङ, लार्जुङ र खन्ती गाउँ राजमार्गसँग जोडिएका छन्, तर नदी पारिका सौरु र सिरकुङ गाउँ भने पुल अभावमा अगम्य जस्तै बनेका छन् ।
करिब ४० परिवारको बसोबास रहेको सौरु र सिरकुङका बासिन्दाको मुख्य आयस्रोत कृषि र पशुपालन हो । तर, कालीगण्डकी नदीमा पुल नहुँदा उनीहरुले उत्पादन गरेका स्याउ, उवा, फापर, जौ, सिमी, बोडी र सागसब्जी जस्ता कृषि उपज बजारसम्म पुर्याउन निकै सास्ती खेप्नुपरेको छ ।
याक, चौँरी र बाख्रापालन गर्ने यी गाउँका बासिन्दा हिउँदमा अस्थायी काठे साँघु (पुल) बनाएर जोखिमपूर्ण तरिकाले नदी तर्ने गर्छन् । तर, वर्षायाममा नदीमा पानीको बहाव बढेपछि साँघु प्रयोग गर्न नसकिने हुँदा उनीहरुले करिब तीन घण्टाभन्दा बढी पैदल हिँडेर कोखेठाटीको घुमाउरो बाटो प्रयोग गरी राजमार्गसम्म पुग्नुपर्ने बाध्यता छ । वर्षायाममा वडा र गाउँपालिका कार्यालय पुग्न, विद्यार्थीलाई माध्यमिक विद्यालय जान तथा स्वास्थ्य सेवा लिन निकै कठिनाइ हुने गरेको सौरुका स्थानीय सोजन हिराचन बताउनुहुन्छ ।
स्थानीयका अनुसार, संघीयता लागू हुनुअघि तत्कालीन जिल्ला विकास समितिले पुल बनाउने प्रयास गरे पनि सफल हुन सकेन । बाढीले पुलको पिलर पुरेदेखि हालसम्म पुल बन्ने ठोस काम हुन सकेको छैन ।
विक्रम सम्वत् २०७७ वैशाख ३० गते सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले सौरु र सिरकुङलाई राजमार्गसँग जोड्न ५७० मिटर लामो झोलुङ्गे पुल निर्माणको योजना अघि सारेको थियो । इलाइट रुविना कन्स्ट्रक्सनसँग रु. ५ करोडमा ठेक्का सम्झौता भएको उक्त पुलको निर्माण कार्य हाल अलपत्र अवस्थामा रहेको थासाङ–२ का वडाध्यक्ष गौतम शेरचनले जानकारी दिनुभयो । पुल निर्माण अलपत्र परेपछि स्थानीयको समस्या ज्यूँका त्यूँ छ ।