झापामा प्रहरीले गर्याे लागुऔषध काराेबारीमाथी हवाई फायर, चालक फरार

झापा, २२ वैशाख । झापाको कनकाई नगरपालिका क्षेत्रबाट प्रहरीले आज बिहान प्रतिबन्धित लागुऔषध ब्राउनसुगर काराेबारीमाथी हवाई फायर गरेकाे छ ।

लागुऔषध ओसारपसारमा प्रयोग भएको भारतीय नम्बर प्लेटको मोटरसाइकल छाडेर चालक भागेपछि प्रहरीले हवाई फायरसमेत गर्नुपरेको हाे।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काका अनुसार, कनकाई नगरपालिका–५ स्थित सुरुङ्गा–झापा सडक खण्डमा यो घटना भएको हो।

शरणामतीबाट सुरुङ्गातर्फ आउँदै गरेको बिआर ३७ टी ९१९८ नम्बरको भारतीय मोटरसाइकललाई प्रहरी टोलीले आज बिहान करिब ८:४० बजे रोक्न खोजेको थियो। तर, मोटरसाइकल चालकले प्रहरी टोलीलाई देख्नासाथ मोटरसाइकल र त्यसमा रहेको झोला छाडेर भागेका थिए। “भाग्दै गरेका व्यक्तिलाई रोक्न प्रयास गर्दा प्रहरीले दुई राउण्ड हवाई फायर गरेको थियो,” प्रवक्ता खड्काले भन्नुभयो।

प्रहरीले घटनास्थलमा छाडिएको झोला जाँच गर्दा त्यसभित्र अन्दाजी २०० ग्राम अवैध लागुऔषध ब्राउनसुगर फेला पारेको हो। फरार भएका मोटरसाइकल चालकको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।