हेलम्बुमा एमाले पार्टी कार्यालय उद्घाटन, स्थानीय तह निर्वाचनमा बहुमत ल्याउने देउजाको उद्घोष

सिन्धुपाल्चोक, २३ वैशाख । नेकपा (एमाले) हेलम्बु गाउँपालिका पार्टी कार्यालयको सोमबार वडा नम्बर ४, सेरामा उद्घाटन गरिएको छ।

पार्टी कार्यालयको उद्घाटन नेकपा (एमाले) वाग्मती प्रदेश कमिटी सचिवालय सदस्य बालकृष्ण देउजाले गर्नुभएको हो।

कार्यालय उद्घाटन गर्दै नेता देउजाले पार्टी कार्यालय स्थापना भएपछि पार्टीका गतिविधिहरू सञ्चालन गर्न थप सहजता मिल्ने बताउनुभयो। उहाँले आगामी स्थानीय तहको निर्वाचनमा हेलम्बु गाउँपालिकाका सबै वडाहरूमा एमालेलाई अत्यधिक बहुमतले विजयी गराउनुपर्नेमा जोड दिनुभयो।

सोही योजनाअनुसार अघि बढ्न उहाँले नेता तथा कार्यकर्ताहरूलाई आग्रह गर्दै व्यवस्थित कार्यालयले पार्टी परिचालनमा थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। उद्घाटन कार्यक्रममा नेकपा (एमाले) सिन्धुपाल्चोक जिल्ला कमिटी सदस्य गंगानाथ भण्डारी, जिल्ला लेखा आयोगकी उपाध्यक्ष गोमा खड्कालगायत गाउँपालिकाका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।

स्मरणरहोस्, गत माघ ४ गते उद्घाटन गरिएको हेलम्बु गाउँपालिका कमिटीको दोस्रो अधिवेशनपछि केही जिम्मेवार भनिएका नेताहरूबाट नै पार्टी र संगठनलाई बदनाम गर्ने नियतले अनावश्यक विवाद सिर्जना गरिएको थियो। उक्त विवादका बीच उद्घाटनको करिब दुई महिनापछि, वैशाख ४ गते, अध्यक्ष मण्डलले खेतनाथ गजुरेल (सरोज)को अध्यक्षतामा पालिका कमिटी घोषणा गरेको थियो। नेतृ गोमा खड्काले गजुरेललाई पार्टीभित्र आर्थिक हिसाबले पारदर्शी, सरल स्वभावका, तथा राजनीतिक, सामाजिक र वैचारिक रूपमा सक्षम युवा नेताको रूपमा चित्रण गर्नुभएको छ।

उक्त दिन, हेलम्बु गाउँपालिका वडा नम्बर ५ को दोस्रो अधिवेशनबाट विशाल तामाङको अध्यक्षता र मानबहादुर तामाङको सचिवत्वमा २१ सदस्यीय वडा कमिटी पनि गठन गरिएको थियाे।