कैलालीमा स्रोत नखुलेको लाखौं नेपाली तथा भारतीय रुपैयाँसहित दुई जना पक्राउ

काठमाडाैं, २४ वैशाख । कैलाली प्रहरीले स्रोत नखुलेको लाखौं नेपाली तथा भारतीय रुपैयाँसहित दुई जनालाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत उत्तरप्रदेश लखिमपुर खिरी जिल्ला, तिकुनियाका ३२ वर्षीय अमन कुमार गर्ग रहेका छन्। उनलाई जिल्लाको भजनी नगरपालिका वडा नम्बर ५ गुलरियाघाटस्थित भन्सार कार्यालयनजिकबाट मंगलबार पक्राउ गरिएको हो।

इलाका प्रहरी कार्यालय पृथ्वीपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले गर्गले चलाइरहेको यूपी ३२ एचए ६७५३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनको साथबाट ८ लाख ९६ हजार ६ सय ६० नेपाली रुपैयाँ बरामद गरेको हो। उक्त रकम उनले सुर्के थैलीमा राखेर कम्मरमा बाँधेका थिए।

त्यस्तै, मंगलबार नै कैलालीको टीकापुर नगरपालिका वडा नम्बर १ बाट १९ वर्षीय अर्मन चौधरी पनि स्रोत नखुलेको भारतीय रुपैयाँसहित पक्राउ परेका छन्। गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले चौधरीले सञ्चालन गर्दै आएको ‘अर्मन धागा एण्ड टेलरिङ सप्लायर्स’ पसलमा खानतलासी गर्दा ५ लाख ३१ हजार ४०० भारतीय रुपैयाँ फेला पारेको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर, बाँकेमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।