नीति तथा कार्यक्रम पारित गर्न एमालेको ह्विप

काठमाडाैं, २६ वैशाख । नेकपा (एमाले) ले सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई संसदबाट पारित गराउन आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ।
पार्टीका संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाले शुक्रबार उक्त ह्विप जारी गर्नुभएको हो।
आगामी वैशाख २८ गते आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ। सोही प्रयोजनका लागि सांसदहरूलाई अनिवार्य उपस्थित भई पक्षमा मतदान गर्न निर्देशन दिइएको मुख्य सचेतक बर्तौलाले जानकारी दिनुभयो।
“राष्ट्रपति रामचन्द्र पौडेलले २०८२ वैशाख १९ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधन मार्फत प्रस्तुत गरिएको आव २०८२-८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम’ लाई मिति २०८२ साल वैशाख २८ गते बस्ने प्रतिनिधि सभाको बैठकमा निर्णयार्थ पेश गर्ने कार्यसूची रहेकाले नेकपा (एमाले) संसदीय दलका सम्पूर्ण सदस्यहरूलाई अनिवार्य उपस्थित भई नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्नु हुन ह्विप जारी गरिएको छ,” बर्तौलाद्वारा जारी सूचनामा उल्लेख छ।