भारत-पाकिस्तान तनाव: नेपालीको सुरक्षा सुनिश्चित गर्न सभामुखद्वारा सरकारको ध्यानाकर्षण
काठमाडौँ, २६ वैशाख। सभामुख देवराज घिमिरेले भारत र पाकिस्तानबीच उत्पन्न तनावपूर्ण स्थितिलाई ध्यानमा राख्दै ती मुलुकमा बसोबास गरिरहेका नेपाली नागरिकको सुरक्षा र उनीहरूले सामना गर्नसक्ने सम्भावित कठिनाइहरूप्रति सचेत रहन र आवश्यक प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ।
प्रतिनिधिसभाको आजको बैठकमा सभामुख घिमिरेले उक्त महत्वपूर्ण विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको हो। बैठकका क्रममा विभिन्न सांसदहरूले पनि भारत-पाकिस्तान तनावले नेपालमा पार्न सक्ने सम्भावित प्रभावबारे सरकार चनाखो हुनुपर्नेमा जोड दिँदै आवश्यक पूर्वतयारी गर्न सुझाव दिनुभएको थियो।
यसका साथै, सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पनि सदनमा पढेर सुनाउनुभएको थियो। प्रतिनिधिसभामा हाल आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जारी छ।