युद्धविरामपछि पनि जम्मू-कश्मिरमा उच्च सतर्कता, घुसपैठको आशंका

काठमाडौँ, २८ वैशाख । भारत र पाकिस्तानबीच शनिबार साँझदेखि लागू भएको युद्धविरामका बावजुद भारत प्रशासित जम्मू-कश्मिर क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।

भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार, सीमा सुरक्षा बललाई विशेष तयारी अवस्थामा राखिएको छ। ‘आतंकवादी समूह’ जैश-ए-मोहम्मदका सदस्यहरूले सीमाबाट घुसपैठ गर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै यो कदम चालिएको हो।

चार दिनसम्म उत्कर्षमा पुगेको भारत-पाकिस्तानबीचको तनाव शनिबार साँझ ५ बजेदेखि अप्रत्याशित रूपमा युद्धविराममा परिणत भएको थियो। यद्यपि, युद्धविराम घोषणा भएलगत्तै पाकिस्तानले जम्मू-कश्मिरको श्रीनगर लगायतका क्षेत्रमा हवाइ आक्रमण गरेको र राति आकाशमा पाकिस्तानी ड्रोनहरू देखिएपछि पठानकोट, गुरदासपुर, बठिन्डा जस्ता सीमावर्ती क्षेत्रमा ‘ब्ल्याकआउट’ गरिएको रिपोर्टहरू सार्वजनिक भएका थिए। यसलाई युद्धविरामको उल्लंघन मान्दै भारतले आफ्नो प्रतिरक्षा प्रणाली सक्रिय बनाएको थियो।

यद्यपि, पछि पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरिफले सामाजिक सञ्जाल एक्समार्फत युद्धविरामको स्वागत गरेको र विदेश मन्त्रालयले पनि युद्धविरामप्रति पाकिस्तान प्रतिबद्ध रहेको विज्ञप्ति जारी गरेको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ।

आइतबार बिहानसम्म भारतका कुनै पनि ठाउँमा थप धमाका वा अप्रिय घटनाको खबर नआएको र मानिसहरू आफ्नो नियमित काममा फर्किएको बताइएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार, हाललाई युद्ध रोक्ने सहमति भए पनि बाँकी विषयमा वार्ता गर्ने वा अन्य प्रक्रिया अघि बढाउनेबारे कुनै ठोस निर्णय भइसकेको छैन।

यो तनावको पृष्ठभूमिमा, जम्मू-कश्मिरको पहलगाममा अप्रिल २२ मा भएको आतंकवादी हमलामा पाकिस्तानको संलग्नता रहेको भारतको दाबी थियो। यसैको प्रतिक्रिया स्वरूप भारतले ‘अपरेसन सिन्दुर’ नामक सैन्य कारबाही सुरु गरेको थियो।