‘हनीट्रयाप’ को जालमा काठमाडौँमा युवक लुटिए, ३ लाख ६३ हजार गुमाए, ८ जना पक्राउ
काठमाडौँ, २८ वैशाख । सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत चिनजान भएकी युवतीलाई भेट्न बोलाएर काठमाडौँको कलङ्कीमा दुई युवक ‘हनीट्रयाप’ मा परेका छन्।
उनीहरूबाट ३ लाख ६३ हजार रुपैयाँ लुटपाट भएको छ भने घटनामा संलग्न ८ जनालाई प्रहरीले पक्राउ गरेको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यका अनुसार, वैशाख २६ गते अमेरिकाको भिसा लागेका एक युवक र उनका साथीलाई कलङ्कीस्थित मेन्स होटलमा बोलाएर लुटपाट गरिएको हो।
इन्स्टाग्राममा करिब डेढ महिना कुराकानी भएपछि टोखा बस्ने १८ वर्षीया सक्रिया खनियाले एक युवकलाई भेट्न कलङ्की बोलाएकी थिइन्। सक्रियाले आफ्नी साथी सुनसरी घर भई कपन बस्ने कविता राईलाई पनि सँगै ल्याउने बताएपछि पीडित युवक पनि आफ्ना साथीसहित उक्त होटल पुगेका थिए।
होटलको कोठामा पुगेको केहीबेरमै आफूलाई प्रहरी बताउने ४ जना पुरुष प्रवेश गरी उनीहरूलाई नियन्त्रणमा लिएका थिए। युवकहरूको मोबाइल र पैसा टेबलमा राख्न लगाई, फोटो खिचेर धम्क्याउँदै एक जनाको मोबाइलमा वानएक्स बेट एप देखाएर जुवाको मुद्दामा फसाउने त्रास देखाए। त्यसपछि उनीहरूबाट ३ लाख रुपैयाँ अनलाइनमार्फत र ६३ हजार नगद गरी कुल ३ लाख ६३ हजार रुपैयाँ लुटेर ‘कतै हल्ला नगर्न’ धम्की दिँदै फरार भएका थिए। लुटपाटपछि कोठाबाट निस्कँदा ती महिलाहरू पनि आपसमा अङ्कमाल गर्दै निस्किएको बताइएको छ।
प्रहरीले लुटपाटमा संलग्न भएको आरोपमा नवलपरासीको देवचुलीका सन्दीप परियार, चितवन भरतपुरका २५ वर्षीय सन्दीप बिक, २५ वर्षीय अतीत क्षेत्री, २२ वर्षीय बादल तामाङ, गैँडाकोटका अनीश केसी, चितवनकै विवेक मल्ल ठकुरी, लमजुङकी सक्रिया खनिया र सुनसरीकी कविता राईलाई पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको एसपी आचार्यले जानकारी दिए।