भक्तपुरमा लागुऔषध कारोबारीको बिगबिगी, २४ घण्टामा आठ जना पक्राउ

भक्तपुर, २ जेठ । भक्तपुर जिल्लामा पछिल्लो समय अवैध लागुऔषध कारोबारी र सेवनकर्ताको सक्रियता निकै बढेको पाइएको छ। जिल्ला प्रहरी परिसर भक्तपुरले लागुऔषध नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरेसँगै पछिल्लो २४ घण्टामा आठ जना कारोबारीलाई पक्राउ गर्न सफल भएको छ।
प्रहरी उपरीक्षक माधव बुढाथोकीका अनुसार विभिन्न जिल्लाबाट भक्तपुरमा आई बसोबास गर्ने व्यक्तिहरूले यहाँ लागुऔषधको कारोबार बढाएका छन्। उनीहरूले जिल्लाका युवापुस्तालाई लक्षित गरी लागुऔषध बिक्री वितरण गर्दा सेवनकर्ताको संख्या पनि ह्वात्तै बढेको देखिएको छ।
प्रहरी वृत्त र प्रहरी परिसरबाट खटिएको संयुक्त टोलीले सूर्यविनायक नगरपालिका र मध्यपुरथिमि नगरपालिका क्षेत्रबाट २४ घण्टाको अवधिमा लागुऔषधसहित आठ जनालाई पक्राउ गरेको उहाँले जानकारी दिनुभयो।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेका अनुसार पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५ घर भई हाल मध्यपुरथिमि–६ सिद्धिकालीमा डेरा गरी बस्ने २३ वर्षीय दिनेश लामा र सर्लाहीको लालबन्दी नगरपालिका–१ घर भई हाल मध्यपुरथिमि सिद्धिकाली बस्ने १८ वर्षीय सागर लामा रहेका छन्।
प्रहरीले उनीहरू बस्दै आएको कोठामा छापा मारी लागुऔषध ट्रमेनिल ४५१ थान, निटजिकेयर एक हजार १९० थान, निटरभेट ७२ थान, गाँजा प्रजातिको पोल्याण्ड नामको लागुऔषध ८४० ग्राम, खैरो हिरोइन ९५० मिलिग्राम, दुई थान मोबाइल र नगद सात हजार रुपैयाँ बरामद गरेको प्रनाउ नेउपानेले जानकारी दिनुभयो।
त्यसैगरी, प्रहरीले मध्यपुरथिमि–९ बोडे बस्दै आएका खोटाङको ऐँसेलुखर्क गाउँपालिका–८ घर भएका २५ वर्षीय स्वदेश राई, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका घर भएका २९ वर्षीय छिरिङ लामा, मध्यपुरथिमि–९ बोडेका २५ वर्षीय अमीर बस्नेत, मध्यपुरथिमि–७ धुञ्चेपाखाका २१ वर्षीय नेस्नल भन्ने सम्राट राई र सिन्धुपाल्चोकको लिशङ्खुपाखर गाउँपालिका–३ घर भई हाल काठमाडौँ कागेश्वरी मनोहरा बस्ने २७ वर्षीय विकास लामालाई पनि पक्राउ गरेको छ।
उनीहरूलाई मध्यपुरथिमिको बोडेस्थित स्वदेश राईको कोठाबाट पक्राउ गरिएको हो। उनीहरूको साथबाट लागुऔषध इपेस्पेन ४५० पिस, ट्रामाडोल १८० थान, स्टेगा १७३ थान, पोलाण्ड ४६६ थान, नगद पाँच हजार रुपैयाँ र तीन थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका सबैलाई आज जिल्ला अदालतबाट म्याद थप गरी लागुऔषध कसुरमा थप अनुसन्धान एवं कारबाही अगाडि बढाइएको प्रनाउ नेउपानेले बताउनुभयो।
यस्तै, सूर्यविनायक नगरपालिका–२ बालकोटबाट नुवाकोटको ककनी गाउँपालिका–२ ओखरपौवा घर भई बालकोटमा डेरा गरी बस्ने ३७ वर्षीय हरिनाथ कोइरालालाई पनि प्रहरीले उनकै डेरा कोठाबाट एक ग्राम ३२ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। उनीमाथि पनि लागुऔषध कसुरमा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरी नायब उपरीक्षक नेउपानेले जानकारी दिनुभयो।