सगरमाथा संवादमा इलामे चियाको स्वाद
काठमाडौँ, ४ जेठ । परराष्ट्र मन्त्रालयले केही समयअघि इलाममा आयोजना गरेको कूटनीतिक नियोगका प्रमुखहरूको ‘रिट्रिट’ कार्यक्रममा गरिएको प्रतिवद्धता र सुझावअनुसार सगरमाथा संवाद स्थलमा सहभागीहरूलाई इलामे चियाको स्वाद चखाउने विशेष व्यवस्था गरिएको छ।
नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा परराष्ट्र मन्त्रालयले नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरूका लागि पूर्वी इलामको श्रीअन्तुमा ‘रिट्रिट’ कार्यक्रम आयोजना गरेको थियो। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको नेतृत्वमा भएको उक्त कार्यक्रममा बेलायत, जापान, अष्ट्रेलिया, युरोपेली युनियनलगायत १५ देशका राजदूत एवं मिसन प्रतिनिधिहरू सहभागी थिए।
उनीहरूले अन्तुडाँडाबाट सूर्योदय अवलोकन गर्ने, चिया बगानमा तस्बिर खिचाउने, घोडाचढीमा रमाउने तथा चिया टिप्ने प्रतियोगिता र ‘टि टेस्टिङ’ कार्यक्रममा सक्रियतापूर्वक भाग लिएका थिए। कार्यक्रमको मुख्य उद्देश्य नेपालका पर्यटकीय स्थान, कला, संस्कृति र सम्पदाको परिचय गराउँदै पर्यटन प्रवर्द्धन गर्नु थियो, जसमा नेपाल पर्यटन बोर्ड र इलामको सूर्योदय नगरपालिकाले सहयोग गरेका थिए।
सोही रिट्रिटका क्रममा स्थानीय चिया उद्यमीहरूले नेपाली चियाको प्रवर्द्धन र बजार विस्तारमा सहयोगका लागि आग्रह गरेपछि मन्त्री डा. राणाले सगरमाथा संवाद कार्यक्रममा विश्वका विभिन्न देश तथा अन्तरराष्ट्रिय सङ्घसंस्थाहरूको उपस्थिति रहने हुँदा त्यहाँ ‘टि टेस्टिङ’ समारोह राख्न सुझाव दिनुभएको थियो। उहाँले संवादको व्यवस्थापन समितिको संयोजकको हैसियतले यसबाट नेपाली अग्र्यानिक चियालाई विश्व बजारमा स्थापित गर्न मद्दत पुग्ने बताउँदै सोहीअनुसार प्रबन्ध मिलाउन निर्देशन दिनुभयो।
मन्त्रीको निर्देशनबमोजिम, सूर्योदय नगरपालिकाको संयोजनमा सगरमाथा संवादस्थल होटल सोल्टीमा इलामको ताजा चियाको प्रदर्शनी कक्ष राखिएको छ। इलामको टि स्टेशन इन्कका अध्यक्ष प्रज्वल प्रधानका अनुसार, उक्त कक्षमा विभिन्न उत्पादन र स्वादका चिया चाख्ने व्यवस्था मिलाइएको छ, जसप्रति विदेशी तथा स्वदेशीहरूको उल्लेख्य आकर्षण देखिएको छ। उहाँले यस्ता अन्तर्राष्ट्रिय सम्मेलनमार्फत नेपाली चियाको प्रचारले विश्व बजारमा सकारात्मक प्रभाव पार्ने अनुभव व्यक्त गर्नुभयो।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक जोशीले बोर्डले नेपाली चियाको विश्वव्यापी प्रवर्द्धनमा सहजीकरण गरेको र सगरमाथा संवादमा सहभागी विदेशी पाहुना तथा प्यानलिष्टहरूलाई इलामको अग्र्यानिक चिया उपहारस्वरूप प्रदान गरिएको थियो।