तीनकुनेमा भएकाे हिंसात्मक घटनालाई धर्मसँग जोड्न सकिँदैन : गृहमन्त्री लेखक

काठमाडौँ, ५ जेठ । गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पूरा गर्नका लागि प्रयोग गर्न नहुने बताउनुभएको छ ।
आज प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले हिंसात्मक घटनालाई धर्मको आवरण दिएर उन्मुक्ति दिन नमिल्ने स्पष्ट पार्नुभयो । “कुनै धर्म उत्कृष्ट र कुनै कम उत्कृष्ट भन्ने मेरो आशय होइन, तीनकुने घटनामा भएको आगजनी र हिंसा अपराध कर्म भएकाले उक्त कार्यलाई कुनै पनि धर्म वा आस्थासँग जोडेर हेर्न नमिल्ने व्यहोरा अनुरोध गर्दछु,” गृहमन्त्री लेखकले भन्नुभयो, “हिन्दू धर्मले अहिंसा, शान्ति र बन्धुत्वमा विश्वास गर्छ, त्यो दर्शन र आदर्श तीनकुनेमा देखिएन । त्यसैले, हिंसालाई धर्मसँग जोड्न सकिँदैन । तीनकुनेमा गरिएको राजतन्त्रको वकालतको विषय नेपालको संविधानविपरीत छ, जसलाई कुनै पनि विषयमा उचित मान्न सकिँदैन ।”
उहाँले तीनकुने घटनामा संलग्नहरुलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान र अभियोजनको कार्य भइरहेको जानकारी दिनुभयो । “जो सुकै भए पनि आपराधिक कार्यमा संलग्नलाई कानुनी दायरामा ल्याइने समेत प्रतिबद्धता व्यक्त गर्न चाहन्छु,” उहाँले भन्नुभयो, “तीनकुनेमा राजावादी समूहबाट भएको हिंसात्मक प्रदर्शनका सम्बन्धमा मैले यसअघि संसद्कै सम्मानित राज्यव्यवस्था समितिलाई जानकारी गराइसकेको छु ।”
मन्त्री लेखकले उक्त घटनामा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको एक निजी घरमा आगजनीबाट निधन भएको र अर्का व्यक्ति सविन महर्जनको हिंसात्मक प्रदर्शन नियन्त्रण गर्ने क्रममा गोली लागेर निधन भएको बताउनुभयो । उहाँले तोडफोड र आगजनीमा संलग्नहरुलाई नियन्त्रणमा लिई अनुसन्धान र अभियोजन प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो ।
“स्वदेशी उत्पादनमा आधारित औषधि कम्पनीमा आगो लगाइएकाले हिंसात्मक प्रदर्शनका आयोजकहरुले यसको जिम्मेवारी लिनुपर्ने कुरामा सरकार प्रष्ट रहेको छ,” उहाँले भन्नुभयो । तीनकुने घटनाको क्षतिको सम्बन्धमा अनुसन्धान जारी रहेको र गोली लागेर घाइते भएकामध्ये तीन जना हाल उपचाररत रहेको तथा बाँकी स्वास्थ्य लाभ गरी घर फर्किसकेको उहाँले जानकारी दिनुभयो । “उक्त घटनाका घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था नेपाल सरकारले गरिरहेको छ,” उहाँले भन्नुभयो, “अन्य व्यवस्था प्रचलित कानुनबमोजिम हुनेनै छ ।”
गृहमन्त्री लेखकले नेपाल सरकार, गृह मन्त्रालय नेपालको संविधान, कानुन तथा सम्मानित अदालतका फैसला र आदेशको कार्यान्वयन गरी सरकारी सार्वजनिक सम्पत्तिको संरक्षण तथा सम्वर्द्धन गर्न सदैव क्रियाशील रहेको उल्लेख गर्नुभयो ।