भरतपुरमा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

काठमाडाैं, ७ जेठ । चितवनको भरतपुर महानगरपालिकामा १६ वर्षीया एक किशोरीमाथि सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ।

प्रहरीले उक्त घटनामा संलग्न भएको आरोपमा पाँच युवालाई पक्राउ गरेको छ भने एक जना अझै फरार भएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डिएसपी) रवीन्द्र खनालका अनुसार, घटना गत वैशाख २५ गते भरतपुर महानगरपालिका वडा नं. १४ स्थित एक घरमा भएको हो।

पीडित किशोरीलाई उनकी एक साथीले आफ्नो घरमा बोलाएकी थिइन्। घरमा पुगेपछि, साथीले “आफ्नो घरमा आमाबुबा भएकोले अर्को साथीको घरमा जाऔं” भन्दै प्रलोभन देखाइन्।
प्रस्तावअनुसार अर्को साथीको घरमा पुर्‍याइएको र उक्त घरमा कोही नभएको मौका पारी किशोरीलाई मिनरल वाटरको बोतलमा राखिएको सेतो रङको मदिरा जबर्जस्ती खुवाएर अर्धचेत बनाइएको थियो। त्यसपछि राति करिब ९ बजेदेखि बिहान ६ बजेसम्म ६ जना युवाले सामूहिक बलात्कार गरेको पीडितले दिएको जाहेरीमा उल्लेख छ। घटनामा संलग्न एक युवाले बलात्कारको क्रममा अश्लील भिडियोसमेत खिचेको जाहेरीमा जनाइएको छ।

केही दिनपछि सोही अश्लील भिडियो पीडित किशोरीले देखेपछि उनले आफ्नी माइजूलाई घटनाबारे जानकारी गराइन्। त्यसलगत्तै पीडितका मामाले जिल्ला प्रहरी कार्यालय चितवनमा किटानी जाहेरी दिएका थिए।

जाहेरी प्राप्त हुनासाथ प्रहरी टोलीले भरतपुर-१४ बाट पाँच जना आरोपित युवालाई पक्राउ गरेको डिएसपी खनालले बताए। घटनामा संलग्न छैटौं व्यक्ति फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।