बाँफिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, ७ जेठ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गाबहादुर ओलीसहित चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार, प्रमुख प्रशासकीय अधिकृत ओली, सोही गाउँपालिकाका लेखापाल महेन्द्र शर्मा, पिपलकाँडा-मेलगैरी सडक योजनाको ठेक्का लिने निर्माण कम्पनी ‘मालिका बस्नेत निर्माण सेवा, छेडेगाड, जाजरकोट’ र उक्त कम्पनीका सञ्चालक शान्तबहादुर बस्नेतविरुद्ध बुधबार मुद्दा दायर गरिएको हो।

आयोगका सहसचिव एवं प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिएअनुसार, उनीहरूमाथि गाउँपालिकाको वडा नम्बर २ स्थित पिपलकाँडा-मेलगैरी सडक खण्ड निर्माण योजनामा अनियमितता गरी २१ लाख ६३ हजार ८६५ रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाइएको छ। उक्त रकम बराबरको बिगो माग दाबीसहित चारै जनाविरुद्ध मुद्दा दर्ता गरिएको प्रवक्ता पौडेलले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *