दाहसंस्कार गर्न लागिएको बालिकाको शव प्रहरी नियन्त्रणमा, बुवा र काकी पक्राउ

संखुवासभा, ९ जेठ । संखुवासभाको भोटखोला गाउँपालिका–४ सिप्प्रङमा ६ वर्षीया बालिकाको शव दाहसंस्कार गर्ने तयारी भइरहेका बेला प्रहरीले हस्तक्षेप गरी नियन्त्रणमा लिएको छ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले बालिकाका बुवा र काकीलाई समेत पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार, गोपाल तामाङकी छोरी युनिका तामाङको शव बिहीबार नियन्त्रणमा लिइएको हो।

प्रहरीले युनिकाका बुवा गोपाल र उनकी भाइबुहारी (युनिकाकी काकी) कल्पना तामाङलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।

प्रारम्भिक अनुसन्धान अनुसार, गत वैशाख ३० गते गोपाल र कल्पनाबीच भएको घरायसी झगडाका क्रममा कल्पनाले भतिजी युनिकालाई डिलबाट धकेलेर लडाएको आरोप छ। गम्भीर घाइते भएकी युनिकाको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा जेठ ७ गते मृत्यु भएको थियो।

मृत्युपश्चात शवलाई दाहसंस्कारका लागि घर ल्याइँदै गर्दा प्रहरीले बिहीबार बाटोबाटै नियन्त्रणमा लिएको हो। शवलाई हाल जिल्ला अस्पताल संखुवासभामा पाेष्टमार्टमका लागि राखिएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले घटनाबारे थप अनुसन्धान भइरहेको र पक्राउ परेका दुवै जनालाई शुक्रबार अदालतमा उपस्थित गराई म्याद थप गर्ने तयारी रहेको जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *