बढी वर्षासँगै डेङ्गीको जोखिम पनि बढ्ने, सतर्कता अपनाउन आग्रह

काठमाडौँ, ९ जेठ । जल तथा मौसम विज्ञान विभागले यसपटकको मनसुनमा औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेसँगै डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने चेतावनी दिइएको छ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले वर्षा बढी हुँदा डेङ्गी फैलाउने लामखुट्टेको वृद्धि भई सङ्क्रमण बढ्न सक्ने औंल्याएको हो।

महाशाखाको कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले भन्नुभयो, “गत वर्षको तुलनामा हाल सङ्क्रमण कम देखिए पनि यस वर्ष मौसम विभागले धेरै पानी पर्ने अनुमान गरेकाले सङ्क्रमणको जोखिम उच्च छ।” उहाँका अनुसार, बढी पानी पर्दा विभिन्न स्थानमा पानी जम्ने र त्यहीँ डेङ्गी सार्ने ‘एडिज एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिका लामखुट्टेले फुल पार्ने र त्यसबाट निस्कने लार्भा वयस्क भएर टोक्दा डेङ्गु रोग लाग्ने गर्छ।

डा. दाहालले घरवरिपरि पानी जम्न सक्ने टायर, गमला, खाली भाँडाकुँडा जस्ता वस्तुहरू अहिलेदेखि नै सफा र व्यवस्थापन गर्न सर्वसाधारणलाई आग्रह गर्नुभयो।

महाशाखाका अनुसार, गत पुस १७ गतेदेखि हालसम्म देशभरका ७१ जिल्लामा एक हजार ८१ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भइसकेको छ। पाँच जनाभन्दा बढी सङ्क्रमित भेटिएका ३० वटा स्थानीय तहहरूलाई सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक कदम चाल्न पत्राचार गरिएको डा. दाहालले जानकारी दिनुभयो।

स्मरणरहोस्, गत वर्ष (सन् २०२३) डेङ्गी सङ्क्रमण ७६ जिल्लामा फैलिँदा ४१ हजार ८६५ जना सङ्क्रमित भएका थिए भने १५ जनाको मृत्यु भएको थियो। यसपटकको मनसुनी वर्षाले उक्त जोखिमलाई थप बढाउन सक्ने भएकाले समयमै सचेत रहन विज्ञहरूले सुझाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *