भृकुटीमण्डप र रत्नपार्क क्षेत्रमा सुरक्षा व्यवस्था कडा, ड्रोनबाट समेत निगरानी

काठमाडौं, १५ जेठ । नेकपा (एमाले) को पूर्वनिर्धारित कार्यक्रम र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका राजावादी समूहहरूको प्रदर्शनलाई मध्यनजर गर्दै आज बिहानैदेखि काठमाडौंको भृकुटीमण्डप तथा रत्नपार्क वरपरका क्षेत्रमा सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ। सम्भावित भिडन्त वा अप्रिय घटना हुन नदिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
जिल्ला सुरक्षा समिति, काठमाडौंको निर्देशनअनुसार, उक्त संवेदनशील क्षेत्रहरूमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका जवानहरूलाई बाक्लो रूपमा खटाइएको छ। सुरक्षालाई थप प्रभावकारी बनाउन र गतिविधिलाई सूक्ष्म रूपमा नियाल्नका लागि ड्रोन प्रविधिको समेत प्रयोग गरिने भएको छ।
प्रहरीले मुख्य चोकहरू तथा कार्यक्रम स्थल प्रवेश गर्ने नाकाहरूमा विशेष निगरानी बढाएको छ।
नेकपा (एमाले) ले आफ्नो कार्यक्रम भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा बिहान ११ बजेका लागि तय गरेको छ। उता, राप्रपालगायत विभिन्न राजावादी विचारधारा राख्ने समूहहरूले भने रत्नपार्क क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरेका छन्। जिल्ला प्रशासन कार्यालय, काठमाडौंले शान्ति सुरक्षा र ट्राफिक व्यवस्थापनलाई ध्यानमा राख्दै राजावादी समूहहरूलाई दिउँसो साढे दुई बजेपछि मात्र प्रदर्शनका लागि समय तोकिदिएको छ।
प्रशासनले दुई फरक राजनीतिक विचारधाराका समूहहरूको कार्यक्रम एकै समय र नजिकको दूरीमा हुँदा हुन सक्ने सम्भावित तनावलाई रोक्न यस्तो कदम चालेको बुझिएको छ। दुवै पक्षलाई निर्धारित स्थान र समयको पालना गर्न तथा शान्तिपूर्ण रूपमा आफ्ना कार्यक्रम गर्न आग्रह गरिएको छ। सुरक्षाकर्मीहरू कुनै पनि अप्रिय अवस्थाको सामना गर्न उच्च सतर्कतामा रहेको बताइएको छ।