बिना ट्रायल लाइसेन्स जारी गरेको अभियोगमा यातायातका ३ कर्मचारी र एक सेवाग्राहीविरुद्ध अख्तियारको मुद्दा

काठमाडौं, १६ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को ट्रायल परीक्षा नै नगराई रकम लिएर लाइसेन्स दिएको आरोपमा यातायात व्यवस्था कार्यालयका तीन जना कर्मचारी र लाइसेन्स प्राप्त गर्ने एक व्यक्तिविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार, यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, रुपन्देहीका तत्कालीन कम्प्युटर अपरेटरहरुले आपसी मिलेमतोमा सभ्यता केसीलाई ट्रायल परीक्षामा सहभागी नै नगराई कार, जीप तथा डेलिभरी भ्यान चलाउने अनुमतिपत्र दिलाएका थिए ।

अख्तियारले शुक्रबार यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, रुपन्देहीका तत्कालीन कम्प्युटर अपरेटर कमल पराजुली, सोही कार्यालयका सहायक कम्प्युटर अपरेटर नारायणप्रसाद पाण्डेय र यातायात व्यवस्था कार्यालय, दाङ, तुलसीपुरका तत्कालीन कम्प्युटर अपरेटर अनिल बुढामगर तथा लाइसेन्स प्राप्त गर्ने सभ्यता केसीलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो ।

उनीहरूले आपसी मिलोमतोमा रकम लेनदेन गरी सवारी चालक अनुमतिपत्रको गलत लिखत तयार पारेको अख्तियारले आफ्नो आरोपपत्रमा उल्लेख गरेको छ ।