काठमाडौं उपत्यकामा यातायात बन्द: सर्वसाधारणको सहजताका लागि प्रहरीले चलायो बस
काठमाडौं, १९ जेठ । यातायात व्यवसायीहरूले आज सार्वजनिक सवारी साधन बन्द गरेपछि काठमाडौं उपत्यकामा सर्वसाधारणको आवतजावतमा परेको कठिनाइलाई मध्यनजर गर्दै नेपाल प्रहरीले बस सञ्चालन गरेको छ।
गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोधमा व्यवसायीहरूले यातायात बन्द गराएका हुन्।
सार्वजनिक सवारी साधन नचल्दा अप्ठेरोमा परेका यात्रुहरूलाई गन्तव्यसम्म पुर्याउन प्रहरीले तत्कालका लागि दुई वटा बस सञ्चालनमा ल्याएको हो। प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी रमेश थापाले नेपाल प्रहरीले बस सञ्चालन गरेको बताउनुभयाे ।
यातायात बन्दको मौका छोपी राइड सेयरिङ सेवा प्रदायकहरूले भाडा बढाएको र अफलाइन (एप बाहिरबाट) सेवा दिनेहरूको संख्या पनि बढेको गुनासो यात्रुहरूले गरेका छन्। यसले गर्दा अत्यावश्यक कामले यात्रा गर्नुपर्ने सर्वसाधारण थप मारमा परेका छन्। प्रहरीको यो कदमले केही हदसम्म भए पनि यात्रुहरूलाई राहत मिल्ने अपेक्षा गरिएको छ।