मिश्र र राणा सम्पर्कविहीन, जिम्मा जमानी लिने दुई वकिललाई ५०–५० हजार रुपैयाँ जरिवाना
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणा अदालतमा उपस्थित हुने सर्तमा छुटे पनि सम्पर्कविहीन भएपछि उनीहरुको जिम्मा जमानी लिएका वकिलहरूलाई जनही ५० हजार रुपैयाँ जरिवाना गरिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपील राज बोहराले मिश्र र राणाका वकिललाई जरिवाना तिराइएको पुष्टि गरे। “हाजिरी जमानीमा लिएर बुझ्नेहरूले उहाँहरूलाई अदालतमा उपस्थित गराउन नसकेपछि दुवै जनाका वकिललाई ५०/५० हजार रुपैयाँका दरले जरिवाना तिराइएको हो,” एसपी बोहराले जानकारी दिए।
मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५ मा अनुसन्धान अधिकृतले हिरासतमा रहेका व्यक्तिलाई हाजिरी जमानीमा छाड्न सक्ने र त्यसरी छाडिएका व्यक्ति तोकिएको समयमा उपस्थित नभएमा जिम्मा लिने व्यक्तिलाई पचास हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ।
गत चैत १५ गते तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शन हिंसात्मक बनेपछि मिश्र र राणालाई प्रहरीले पक्राउ गरेको थियो। मिश्र हिरासतमा रहँदा उनकी पत्नीले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। उक्त रिटमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको इजलासले अनुसन्धान सकिएको भन्दै हाजिरी जमानीमा छाड्न आदेश दिएको थियो। सोही आदेशअनुसार २ जेठमा प्रहरीले वकिलको जिम्मा लगाएर मिश्रलाई छाडेको थियो।
त्यसअघि ७ वैशाखमा राणालाई उपचारका लागि भन्दै सरकारी वकिल कार्यालयको रायअनुसार प्रहरीले हाजिरी जमानीमा छाडेको थियो। उनीहरूविरुद्धको मुद्दा अदालतमा दर्ता भई बयान सकिँदा समेत दुवै जना हालसम्म उपस्थित भएका छैनन्।
तीनकुने घटनामा संलग्न भएको आरोपमा मिश्र र राणाविरुद्ध राजद्रोह, आपराधिक उपद्रव र संगठित अपराधको मुद्दा लगाइएको छ। सोही घटनामा ४ बालबालिकासहित ६५ जनाविरुद्ध मुद्दा दर्ता भएको र हाल अदालतमा थुनछेक बहस चलिरहेको छ।
उक्त प्रदर्शन राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका तर्फबाट दुर्गा प्रसाईं र ८६ वर्षीय पूर्वपञ्ज नवराज सुवेदी समेतले संयुक्त रूपमा आयोजना गरेका थिए, जसको नेतृत्व प्रसाईंले गरेका थिए। प्रदर्शन हिंसात्मक बन्दा कीर्तिपुरका सविन महर्जन र पत्रकार सुरेश रजकको ज्यान गएको थियो भने प्रदर्शनकारीहरूले व्यक्तिका घर तोडफोड गर्नेदेखि आगजनीसम्म गरेका थिए।
Expand to view model thoughts
