बागलुङका बुर्तिबाङ र कुश्मिसेरा बजार फोहोरले अस्तव्यस्त, व्यवस्थापनमा सकस

बागलुङ, २२ जेठ। बागलुङ जिल्लाका दुई प्रमुख बजार केन्द्र, ढोरपाटन नगरपालिकाको बुर्तिबाङ र जैमिनी नगरपालिकाको कुश्मिसेरा, फोहोर व्यवस्थापनको गम्भीर समस्यासँग जुधिरहेका छन्।

तीव्र बजारीकरणसँगै अव्यवस्थित फोहोरले वातावरण प्रदूषण र जनस्वास्थ्यमा चुनौती थपेको छ।
जिल्लाकै दोस्रो ठूलो व्यापारिक केन्द्रको रूपमा तीव्र गतिमा विस्तार भइरहेको बुर्तिबाङ बजारमा फोहोरको उचित व्यवस्थापन हुन नसक्दा दुर्गन्ध फैलिएको छ।

नगरपालिकाले विगत ८ वर्षदेखि वडा नं. ३ स्थित बाघखोरमा फोहोर फाल्दै आएको छ। तर, यो स्थान व्यवस्थित नहुँदा ठूलो वर्षा हुँदा फोहोर बगेर तमानखोला, भूजीखोला हुँदै बडिगाड खोलासम्म पुग्ने गरेको छ, जसले जलचर प्राणीलाई समेत असर पारेको छ। फोहोर फालिने स्थान बुर्तिबाङ–तमानखोला सडक छेउमै पर्ने भएकाले यात्रुहरूले सास्ती भोग्नुपरेको छ।

नगरपालिकाले खोला छेउमा फोहोर थुपारेर आगो लगाउँदा निस्कने धुवाँले यात्रा गर्न कठिन हुने गरेको स्थानीय तेजबहादुर विकले बताउनुभयो। उहाँका अनुसार गर्मीयाममा फोहोर कुहिएर टाढासम्म गन्ध आउने र हैजा फैलिने जोखिम बढेको छ।

यस सम्बन्धमा ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले फोहोर व्यवस्थापनका लागि जग्गा खोजी भइरहेको र नयाँ सहर आयोजनासँग सहकार्य गरी ‘डम्पिङसाइट’ निर्माण गर्ने योजना रहेको बताउनुभयो। सङ्घीय सरकारबाट रु ८७ लाख बजेट विनियोजन भएको र जग्गा व्यवस्थापन हुनासाथ हालको स्थानबाट फोहोर हटाइने उहाँको भनाइ छ।

त्यस्तै, दक्षिण बागलुङको उदाउँदो बजार कुश्मिसेराको फोहोर पनि जैमिनीधाम जाने सडक छेउमा अव्यवस्थित रूपमा फालिँदा दुर्गन्ध फैलिएको छ, जसले यात्रुलाई समेत असर पारेको छ। जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले फोहोर व्यवस्थापनका लागि जग्गाको अभाव मुख्य समस्या रहेको बताउनुभयो। उहाँका अनुसार औद्योगिक ग्रामका लागि करिब १०० रोपनी र फोहोर व्यवस्थापनका लागि १५ रोपनी जग्गा आवश्यक परेको छ।

“हामी फोहोर व्यवस्थापनप्रति गम्भीर छौँ, तर साँघुरो ठाउँमा पर्याप्त जग्गा नपाउँदा समस्या भएको हो। केही ठाउँमा जग्गा पाइए पनि आवश्यकताअनुसार पुगेन। जग्गा प्राप्त हुनासाथ व्यवस्थापन गरिनेछ,” उपप्रमुख शर्माले भन्नुभयो। उहाँले हालको स्थान अनुपयुक्त भए पनि बजारको फोहोर व्यवस्थापन गर्न बाध्य भएको स्वीकार्नुभयो।