नागरिकता विधेयकमाथि सांसदहरूसँगको छलफल सकियो, अब एनआरएनए र गोर्खा सैनिकसँग छलफल हुने
काठमाडौँ, २३ जेठ । संसदीय समितिले ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ माथि संशोधन प्रस्ताव दर्ता गराएका सांसदहरूसँगको छलफल सम्पन्न गरेको छ।
राज्य व्यवस्था तथा सुशासन समितिमा उक्त विधेयकमाथि ४६ जना सांसदले ८५ वटा संशोधन प्रस्ताव दर्ता गराएका थिए।
समितिका सभापति रामहरि खतिवडाका अनुसार, सांसदहरूसँगको चरणबद्ध छलफल सकिएकाले अब सरोकारवालाहरूसँग परामर्श सुरु गरिनेछ। अर्को बैठकमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का वर्तमान तथा पूर्व पदाधिकारी र भूतपूर्व गोर्खा सैनिकसँग सम्बन्धित सङ्गठनका प्रतिनिधिहरूलाई छलफलका लागि बोलाइने उहाँले जानकारी दिनुभयो।
बैठकमा गृहमन्त्री रमेश लेखकले समितिमा छलफलमा रहेको उक्त विधेयकलाई चाँडो टुङ्ग्याएर सदनमा पठाउन आग्रह गर्नुभयो । “यो अत्यन्त संवेदनशील विषय हो। यसलाई चाँडो पारित गरेर नागरिकले भोगिरहेको पीडाको अन्त्य गर्नतर्फ लागौँ,” गृहमन्त्री लेखकले भन्नुभयो।
सांसदहरूसँगको छलफल सकिएसँगै विधेयकलाई अन्तिम रूप दिने प्रक्रिया एक कदम अघि बढेको छ।