रुपन्देहीमा काेदालाेले हानेर आफ्नै बुवा र छिमेकीको विभत्स हत्या

रुपन्देही, २३ जेठ । पश्चिम नवलपरासीको सुनवलमा एक युवकले आफ्नै बाबु र झगडा छुट्याउन आएका छिमेकीको कोदालो प्रहार गरी विभत्स हत्या गरेका छन्।

सुनवल नगरपालिका-२, अमरैयाका २५ वर्षीय हेमराज थारुले शुक्रबार बिहान ५० वर्षीय बाबु जयराम थारु र ७० वर्षीय छिमेकी नाथु धरिकारको हत्या गरेका हुन्।

घरायसी विवादका क्रममा हेमराजले बाबुमाथि कोदालोले आक्रमण गरेका थिए। होहल्ला सुनेर छुट्याउन आएका छिमेकी धरिकारलाई पनि उनले सोही कोदालोले प्रहार गर्दा दुवैको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

स्थानीय जनप्रतिनिधिका अनुसार घटना अत्यन्त क्रूर प्रकृतिको थियो। “कोदालोले हानेर ढालेपछि टाउको नै छिनाएको जस्तो विभत्स अवस्था थियो,” एक वडा सदस्यले भने।

विवाहको निहुँमा भएकाे थियाे विवाद
स्थानीयका अनुसार हेमराजले ‘बिहे नगराइदिएको’ भन्दै बाबुसँग बारम्बार झगडा गर्ने गरेका थिए। वडा सदस्य लक्ष्मीकुमारी हरिजनले भनिन्, “उनी अविवाहित थिए, बिहेको कुरालाई लिएर बाबुछोराबीच विवाद भएको पहिले पनि सुनेका थियौँ, आज त यस्तो दुःखद घटना भयो।” हेमराजको मानसिक स्वास्थ्यमा समेत समस्या रहेको र केही समयअघि उपचार गराएर फर्किएको बताइएको छ।

अभियुक्त पक्राउ, अनुसन्धान जारी
घटनालगत्तै इलाका प्रहरी कार्यालय, सुनवलको टोलीले हत्यामा प्रयोग भएको कोदालोसहित हेमराजलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासीका डीएसपी वीरदत्त पन्तले अभियुक्तमाथि थप अनुसन्धान भइरहेको जानकारी दिए। मृतक दुवैको शव पोस्टमार्टमका लागि पठाइएको छ। यो घटनाले पूरै गाउँ स्तब्ध र त्रसित बनेको छ।