म्याग्दीमा निर्माणाधीन ५३.५ मेगावाटको माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाको काम तीव्र गतिमा

म्याग्दी, २५ जेठ । म्याग्दीको धवलागिरि र मालिका गाउँपालिकामा निर्माणाधीन ५३.५ मेगावाट क्षमताको माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाको निर्माण कार्यले गति लिएको छ । आयोजनाको विद्युत्गृह रहने मालिका गाउँपालिका–७, भारबाङस्थित आउटलेटबाट हेडरेस सुरुङ खन्ने काम सुरु भएसँगै निर्माण कार्य थप तीव्र बनेको हो ।

मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले एक कार्यक्रमका बीच आउटलेटतर्फको सुरुङ खन्ने कामको शुभारम्भ गर्नुभयो । उहाँले आयोजनालाई आवश्यक जनशक्ति र उपकरण परिचालन गरी तोकिएकै समयमा सम्पन्न गर्न प्रवर्द्धक कम्पनीलाई आग्रह गर्नुभयो । योसँगै अब आयोजनाको सुरुङ निर्माण चार विभिन्न स्थानबाट एकसाथ अघि बढेको छ ।

आयोजना प्रमुख ज्योतिकुमार केसीका अनुसार, बाँधस्थल धवलागिरि–४, खाम्ला र छहरीको अडिटबाट दुईतर्फी सुरुङ खन्ने काम यसअघि नै जारी थियो । कुल ५.७ किलोमिटर लामो सुरुङमध्ये अडिट र आउटलेटबाट खनिने सुरुङको लम्बाइ १.८६५ किलोमिटर हुनेछ । हालसम्म छहरीको १९८.९० मिटर अडिट सुरुङ, बाँधतर्फबाट ७६.५४ मिटर र अडिटबाट मुख्य सुरुङतर्फ १,२७०.६७ मिटर गरी महत्त्वपूर्ण प्रगति हासिल भइसकेको छ ।

म्याग्दी हाइड्रोपावर लिमिटेडले प्रवर्द्धन गरिरहेको यस आयोजनाको बाँध निर्माणतर्फ पनि २० प्रतिशत भौतिक प्रगति भएको छ । धवलागिरि–४, खाम्लामा म्याग्दी नदीमाथि १५ मिटर अग्लो र ४० मिटर लामो बाँध बनाइँदैछ ।

आयोजना निर्माणको सिभिल ठेक्का पाएको लुना बिल्डर्स एन्ड कन्ट्याक्टरले निर्माणस्थलमा आवश्यक सामग्री, उपकरण र जनशक्तिको पर्याप्त व्यवस्थापन गरेको छ । वि.सं. २०८३ फागुनभित्र विद्युत् उत्पादन थाल्ने लक्ष्यका साथ बाँध, सुरुङ र विद्युत्गृह निर्माणको काम द्रुत गतिमा अघि बढाइएको आयोजनाले जनाएको छ ।

सानिमा बैंकको अगुवाइमा ६ वटा बैंकहरूको कन्सोर्टियम, प्रवर्द्धक र सर्वसाधारणको सेयर लगानी गरी कुल रु. ११ अर्ब २३ करोड २७ लाखको लागतमा आयोजना निर्माण हुन लागेको हो । मालिका–७, भारबाङमा बन्ने विद्युत्गृहबाट उत्पादित बिजुलीलाई १.५ किलोमिटर लामो १३२ केभी प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणले डाँडाखेतमा बनाइरहेको सबस्टेसनमा जोडिनेछ ।