नेपालमै पहिलोपटक लिङ्ग परिवर्तनको सफल शल्यक्रिया

काठमाडौँ, २५ जेठ । नेपालको चिकित्सा क्षेत्रमा एक ऐतिहासिक उपलब्धि हासिल भएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ), महाराजगञ्जका चिकित्सकहरूले देशमै पहिलोपटक सफलतापूर्वक लैङ्गिक पुनर्निर्धारण (लिङ्ग परिवर्तन) शल्यक्रिया सम्पन्न गरेका छन्।
यही जेठ १२ देखि १५ गतेसम्म पारलैङ्गिक समुदायलाई लक्षित गरी आयोजना गरिएको विशेष शल्यक्रिया कार्यक्रममा जनकपुरका २५ वर्षीय एक व्यक्तिमा पुरुषबाट महिलामा लैङ्गिक पुनर्निर्धारण गरिएको हो। यस क्रममा पुरुष जननेन्द्रियका तन्तुहरूलाई प्रयोग गरी महिला जननेन्द्रियको सफल पुनःनिर्माण गरिएको अस्पतालले जनाएको छ। सोही कार्यक्रममा अनुहार र स्तनको सौन्दर्य अभिवृद्धि गर्ने शल्यक्रिया पनि गरिएको थियो।
यो जटिल शल्यक्रिया विदेशी प्लास्टिक सर्जन डा. एलिजा हामीडियन जाह्रोमीको नेतृत्व र अस्पतालको प्लास्टिक सर्जरी विभागका प्रमुख प्रा.डा. जयनमान श्रेष्ठको संयोजनमा सम्पन्न भएको हो। शल्यक्रियामा विभागको सम्पूर्ण प्लास्टिक सर्जरी तथा एनेस्थेसिया टोलीको सहभागिता थियो।
विदेश जानुपर्ने बाध्यताको अन्त्य, नियमित सेवा सुरु हुने
अस्पतालका प्रवक्ता सह-प्रा.डा. गोपाल सेढाइँका अनुसार, अब यो सेवा नेपालमै नियमित हुने भएकाले महँगो खर्च गरेर विदेश जानुपर्ने बाध्यता हटेको छ। उहाँले भन्नुभयो, “यसले आफ्नो लैङ्गिक पहिचानसहित बाँच्न चाहने पारलैङ्गिक समुदायका व्यक्तिहरूलाई ठूलो राहत मिलेको छ।”
विभागीय प्रमुख प्रा.डा. श्रेष्ठले अब अस्पतालमा ‘जेन्डर अफर्मिङ क्लिनिक’ (Gender Affirming Clinic) स्थापना गरी यस्ता सेवालाई नियमित र व्यवस्थित रूपमा प्रदान गरिने जानकारी दिनुभयो। यो उपलब्धिले नेपालको स्वास्थ्य सेवामा नयाँ अध्याय थपेको छ भने पारलैङ्गिक समुदायको अधिकार र पहिचानलाई स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।