प्रतिनिधिसभामा आज पनि प्रतिपक्षीको अवरोध

काठमाडौं, २६ जेठ । प्रतिनिधिसभा बैठकमा आज पनि प्रतिपक्षी दलहरूले अवरोध गरेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा दिनुपर्ने अडान राख्दै विपक्षी दलहरूले बैठक अवरोध गरेका हुन् ।

अवरोध हटाउन सभामुख देवराज घिमिरेसहित सत्ता र प्रतिपक्षी दलहरूबीच निरन्तर छलफल हुँदा पनि सहमति हुन सकेको छैन् ।

रास्वपाले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आएको छ भने माओवादी केन्द्रले मध्यमार्गी प्रस्तावको बाटोमा जानुपर्ने बताएको छ ।

आजै कांग्रेस सांसद पूर्णबहादुर खड्का र प्रमुख सचेतक श्यामकुमार घिमिरेले रास्वपा प्रमुख सचेतक सन्तोष परियारसँग छलफल गरेका थिए । तर, कांग्रेसले अख्तियारमा छानबिन भइरहेको विषयमा संसदीय समिति वा अर्को छानबिन समिति नबनाउने भनेपछि रास्वपा संसद्को अवरोध खुलाउन तयार नभएको हो ।

स्रोतका अनुसार, कांग्रेसले अघि सारेको मध्यमार्गी प्रस्तावमा नेकपा माओवादी केन्द्रले सहमति जनाइसकेको छ । यद्यपि रास्वपा त्यसमा तयार देखिएको छैन ।